
काठमाडौं, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोलियम पदार्थको कारोबारबाट चर्को घाटा बेहोरेपछि डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धनको मूल्यवृद्धि गरेको हो ।
गएरातिदेखि लागू हुनेगरी निगमले डिजले, मट्टितेल र पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ तथा आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिर रु पाँच तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्यमा प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरेको हो ।
मूल्यवृद्धि भएसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १२२, पेट्रोलको मूल्य १३९, हवाई इन्धन (आन्तरिक)को प्रतिलिटर रु १०६ र हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ) प्रतिकिलोलिटर ९९५ अमेरिकी डलर पुगेको छ ।
यसैगरी एलपी ग्यासमा अत्यधिक घाटा भए पनि ग्यासको मूल्य यथावत राखिएको निगमले जनाएको छ । प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोलियमको मूल्य बढे पनि अझै निगमलाई १५ दिनमा रु एक अर्ब ८८ करोड घाटा हुने भएको छ ।







