
काठमाडौं, निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका राजनीतिक दलसँग यही पुस ३० गते शुक्रबार परामर्श गर्ने भएको छ ।
आगामी माघ १२ गतेका लागि निर्धारण गरिएको राष्ट्रियसभा निर्वाचनका साथै स्थानीय तहको आगामी निर्वाचनका सन्दर्भमा छलफल गर्न आयोगले सर्वदलीय बैठक आह्वान गरेको हो ।
प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरूको उपस्थितिमा सर्वदलीय बैठक हुने जानकारी दिँदै आयोगका प्रवक्ता शालिग्राम शर्माले भनेका छन्, ‘पर्सि शुक्रबार बिहान ११ः३० बजेका लागि सर्वदलीय बैठक आह्वान भएको छ । सम्बन्धित राजनीतिक दलका अध्यक्ष वा राजनीतिक दलले सम्पर्कका निम्ति आयोगलाई उपलब्ध गराएका व्यक्तिलाई बैठकमा उपस्थित हुन पत्राचार गरेका छौँ ।’







