April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

कोरोना सङ्क्रमणको सम्भावित तेस्रो लहर रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको सम्भावित तेस्रो लहरको सङ्क्रमण रोक्न निर्देशन दिनुभएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित कोभिड–१९ निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले सरकारका मन्त्री, मुख्यसचिव र सचिवलाई सम्भावित तेस्रो लहरको सङ्क्रमण रोक्न आवश्यक कदम चाल्न निर्देशन दिनुभएको हो ।

उहाँले बुस्टर डोज र भारतसँग रहेको खुला नाकामा होल्डिङ सेन्टर स्थापनालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।यही पुस २२ गते ५४० मा पुष्टि भएको कोरोना भाइरस सङ्क्रमण आज एकैदिन ९६८ जनामा पुष्टि भएको छ । भारतको पन्जाव, गुजरात, उत्तरप्रदेश, बिहारलगायत प्रदेशमा सङ्क्रमणको तेस्रो लहर फैलिसकेको छ ।

तेस्रो लहर फैलिन नदिनु सरकारको प्रमुख प्राथमिकता भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सङ्क्रमण फैलिन नदिन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन गर्नुभयो । उहाँले सीमामा तेस्रो लहरको सङ्क्रमणको चुनौति रहेकाले सीमा नाकामा कोरोना भाइरसको परीक्षण दर बढाउन पनि निर्देशन दिनुभयो ।

प्रधानमन्त्री देउवाले भारतसँग सीमा जोडिएका नाकामा होल्डिङ सेन्टर पनि चाँडै स्थापना गर्न निर्देशन दिनुभयो । “भारत सीमाबाट आएका सबै व्यक्तिलाई परीक्षण गर्नुपर्दछ”, उहाँले भन्नुभयो, “परीक्षण गर्दा सङ्क्रमण भेटिए आइसोलेशन र होल्डिङ सेन्टरमा राखेर उपचार गर्नुपर्दछ ।

उहाँले तेस्रो लहरको ओमिक्रोन भेरियन्ट छिटो फैलिने भएकाले खतरा रहेको र समयमै रोकथाम र नियन्त्रणका लागि आवश्यक काममा लाग्नुपर्नेमा जोड दिनुभयो ।प्रधानमन्त्री देउवाले बुस्टर डोज लगाएपछि तेस्रो लहरको खतरा कम हुने भएकाले सबैलाई बुस्टर डोज लगाउने गरी व्यवस्थापनसमेत गर्न निर्देशन दिनुभयो ।

शीर्ष समाचार

धेरै पढिएको