January 24, 2022, Monday
२०७८ माघ १०, सोमबार

राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार दर्ता आज

सत्ता गठबन्धनआबद्ध पाँच दलबीच १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन कायम राखेर अघि बढ्ने सहमतिसहित सिट भागबन्डा भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको सत्ता गठबन्धन आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्टिय जनमोर्चाबीचको बैठकले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन कायम राखेर अघि बढ्ने सहमति गर्दै सिट संख्यामासमेत भागबन्डा गरेका हुन् । राष्ट्रिय सभामा रिक्त हुने १९ पदका लागि मंगलबार उम्मेदवारको मनोनयन दर्ता हुँदै छ ।

सहमतिअनुसार प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले ६ सिट, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पाँच÷पाँच सिट तथा जसपालाई दुई र जनमोर्चालाई एक सिट बाँडफाँट भएको हो । रिक्त हुनेमा नेकपा एमालेको आठ सिट छ । यस्तै, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र कांग्रेसका तीन सदस्यको पदावधि पनि सकिँदै छ ।

सहमतिअनुसार एमालेले जितेका आठ सिटमा कांग्रेसले तीन, जसपाले दुई, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाले एक÷एक सिट पाउनेगरी सहमति भएको हो ।

राष्ट्रिय सभामा एक मनोनीतसहित चारवर्षे कार्यकाल पूरा गरेका २० जनाको पद २० फागुनबाट रिक्त हुँदै छ । राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहका १४ सय ९३ जना र प्रदेश सभामा ५ सय ३२ जना गरेर जम्मा २ हजार २५ जना मतदाता छन् । निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र गाउँपालिका तथा नगरपालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ ।राष्ट्रिय सभा निर्वाचनका लागि आयोगमा १२ दल दर्ता भइसकेका छन् । राजधानी दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको