नयाँ वर्ष २०२२ मा ओलीको सन्देश: सुस्थिर राजनीति अपरिहार्य

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्ने गन्तव्यमा अघि बढिरहेको बताएका छन् । अध्यक्ष ओलीले यसका लागि सुस्थिर राजनीति अपरिहार्य रहेको बताएका छन् ।
नयाँ वर्ष सन् २०२२ को शुभकामना सन्देश जारी गर्दै ओलीले यस्तो गुनासो बताएका हुन् । उनले सन् २०२१ मा केही शक्तिहरुले मुलुकको दूरगामी यात्रालाई अल्मल्याउने काम गरेको बताएका छन् ।
मुलुकको विकासका सम्पूर्ण कामहरुमा अल्मविराम लागेको र विकासको राष्ट्रिय बहसको ठाउँ सत्ताशक्तिको अनुचित भागबण्डा, लेनदेन र राज्यस्रोतको दोहनले लिएको उनको गुनासो छ ।
शुभकामना सन्देशमा ओलीले भनेका छन्, ‘यसै वर्ष एमालेलाई जालझेलपूर्ण तरिकाले सरकारबाट हटाइएपछि राष्ट्रका गौरवपूर्ण उपलब्धीलाई समस्याका रुपमा देख्ने र राष्ट्रको स्वाधीनता तथा सार्वभौमसत्ताप्रति उदासीन रहने अकर्मन्य र गन्तव्यहीन प्रवृत्ति देखिए । मुलुक निर्माणको प्राथमिकताबाट बिमूख व्यक्ति र समूहहरुका निजी दुराकांक्षाहरुले सिर्जना गरेका अवरोधहरुलाई छिचोल्दै राष्ट्रको यस साझा आकांक्षा पूरा गर्ने बाटोमा एमाले अविचलित निष्ठासाथ अघि बढिरहेको छ ।’
यसैगरी नेपालीको नयाँ वर्ष वैशाख १ मा मनाइने भए पनि आज अधिकांस देशमा प्रचलनमा रहेको हुँदा जनवरी १ लाई अन्तर्राष्ट्रिय नयाँ वर्षकोरुपमा मनाउने गरिएको ओलीको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस्