नक्कली कर्मचारी देखाई रकम हिनामिना गर्ने प्राइम र नेपाल लाइफ इन्स्योरेन्सलाई कारबाही
काठमाडौं, नक्कली कर्मचारी देखाएर प्राइम लाइफ इन्स्योरेन्सले करिब ३ करोड २ लाख रुपैयाँ हिनामिना गरेको पुष्टि भएको छ । नियामक निकाय बिमा समितिले गरेको स्थलगत अनुसन्धानका क्रममा उक्त तथ्य फेला पारेको बताइएको छ ।
बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/७५ र २०७६/७६ मा वैदेशिक रोजगारी म्यादी जीवन बिमा व्यवसाय गर्न मार्केटिङ कर्मचारीका रूपमा २९ जना नियुक्त गरेको भनिए पनि उक्त कुरा अनुसन्धानका क्रममा खुल्न नआएकाले उक्त कम्पनीलाई कानुनबमोजिम कारबाही गर्न पत्र काटिएको हो ।
यस विषयमा गत मंसिर २४ मा बिमा कम्पनीसँग स्पष्टीकरण सोधिएको थियो । तर उताबाट आएको स्पष्टीकरण चित्तबुझ्दो नदेखिएकाले समितिबाट जारी सुशासनसम्बन्धी निर्देशिका २०७५ विपरीत भएको पौडेलको भनाइ छ ।
‘तलब भत्ता निर्धारण नै नगरी कर्मचारी खर्चका नाममा ३ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको देखियो,’ पौडेलले भने, ‘कर्मचारी नियुक्त गरेको भनिए पनि उनीहरूको हाजिरी पनि छैन, कर्मचारी विनियमावलीबमोजिम नियुक्त गरेको पनि छैन ।’
प्राइम लाइफ इन्स्योरेन्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत मनोज भट्टराईको कार्यकालमा उक्त घटना भएको हो । यसकारण तत्कालीन नेतृत्वलाई पनि केकस्तो कारबाही गर्ने भन्ने विषयमा छलफल भइरहेको बिमा समिति स्रोतले बताएको छ । ‘त्यतिबेला वैदेशिक रोजगारीमा जाने क्रम ह्वात्तै थियो,’ स्रोतले भन्यो, ‘उक्त समयमा म्यानपावर कम्पनीका मानिसलाई कर्मचारी देखाएर रकम बाँडेको देखियो ।’ कम्पनी स्रोतले भने ती कर्मचारी नक्कली नभई सक्कली रहेको र नियुक्तिको सबै प्रक्रिया पूरा भएको दाबी गरेको छ ।कान्तिपुर दैनिकबाट
प्रतिकृया दिनुहोस्