सिरहामा छुरा प्रहार गरी युवकको हत्या,घटनाको विरोधमा प्रदर्शन
जनकपुरधाम । सिरहामा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । शनिबार राति गोलबजार नगरपालिका ६ डोहटियाका २६ वर्षीय रामकुमार सदायको हत्या भएको हो ।
अज्ञात समूहले छुरा प्रहार गरी रामकुमार घटनास्थलमै मृत्यु भएको र १९ वर्षिय निकेश सदाय घाइते भएको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी नीरिक्षक सन्तोष राईले जानकारी दिए ।
उनका अनुसार घाइते निकेशको उपचार धनगढीको आरके मेडिसिटी अस्पताल उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको छ । घटनाको विरोधमा स्थानीय आन्दोलित भएका छन् ।
डोहटिया टोलका बासिन्दा गोलबजार आएर घटनाको विरोधमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका हुन् । उनीहरु ईलाका प्रहरी कार्यालय गोलबजार अगाडि र राजमार्गको विभिन्न ठाउँमा टायर बालेका छन् । बजारसमेत बन्द गराइएको छ ।
घटनामा संलग्नलाई पक्राउ गरी कडा कारबाही गर्नुपर्ने, घाइतेको निःशुल्क उपचार, पीडित परिवारलाई क्षतिपूर्तीसहितको माग राखेर उनीहरु आन्दोलन सुरु गरेका छन् । आन्दोलनका कारण सयौं सवारी साधन र यात्रु अलपत्र परेका छन् ।

प्रतिकृया दिनुहोस्