मतदान नगरेकोमा प्रतिक्रिया दिँदै शेखरले भने: ‘गल्ती भए क्षमाप्रार्थी छु’

काठमाडौं, नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले प्रदेश महाधिवेशनमा मतदान नगरेकोमा प्रतिक्रिया जनाउँदै माफी मागेको छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत उनले भोट नहालेर आफूले कमजोरी प्रस्तुत् गरेको भन्दै माफी मागेका हुन् । शनिबार उनको गृहनगर विराटनगरमा भएको अधिवेशनमा उनका उम्मेदवार गुरुराज घिमिरे २ भोटले पराजित भएका छन् भने कोइरालाले नै घिमिरेलाई मतदान गरेका थिएनन् ।
कांग्रेस नेता शेखर कोइरालाले कानुनी परामर्श गर्दा भविष्यमा जटिलता आउन सक्ने पाएपछि प्रदेश १ को अधिवेशनमा मतदान नगरेको बताएका छन् ।
उनले लेखेका छन्, ‘कांग्रेस १४ औं महाधिवेशनमा प्रदेशसम्म केन्द्रीय नेताहरुले मतदान गर्न पाउने/नपाउने विषय सुरुदेखि नै ‘संशय’ थियो । कानुनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो । तसर्थ मतदान नगर्नु उपयुक्त ठानें । यस क्रममा म बाट भएको कमजोरीप्रति सचेत रहँदै गल्ती भए क्षमाप्रार्थी छु ।’

प्रतिकृया दिनुहोस्