June 3, 2023, Saturday
२०८० जेष्ठ २०, शनिबार

चुनाव हारेपछि विरक्त बनेका छन् कमल थापा

यतिबेला कमल थापा विरक्त बनेका छन् । कहिले राज परिवारलाई दाेष दिन्छन् त कहिले कसैलाई ,एकता महाधिवेशन अघि झन्डै १५ वर्षदेखि एकछत्र राप्रपाको नेतृत्व गर्दै आएका कमल थापाको हार हुने अनुमान शायद कमैले गरेका थिए । तर, विगत डेढ दशकमा उनले राप्रपालाई जसरी प्राइभेट कम्पनी जसरी चलाए । कुनै बेला किङमेकर बनेको पार्टीलाई जसरी निकै कमजोर बनाए, त्यो नै उनको हारको मुख्य कारण बन्यो । अनि गुटलाई महत्व दिएर युवाको मतलाई कमजोर मान्दा उनी नेतृत्वबाट बाहिरिनुपर्यो । यद्यपी महाधिवेशनले अध्यक्षमा युवा नेता राजेन्द्र लिङ्देनलाई जिताएपनि पदाधिकारीमा थापा पक्षलाई बहुमत दिलाएको छ । पार्टीलाई फेरि अर्को फुटबाट जोगाउन कार्यकर्ताले दिएको यस्तो स्पष्ट सन्देशलाई नेताहरुले मनैदेखि आत्मसाथ गर्नु पर्ने धारणा समेत बाहिर आएको छ ।

चुनावअघि नै लिङ्देन प्यानलका उम्मेदवारसँग वाकयुद्धमा उत्रिएका थापा अध्यक्षमा पराजित भएपछि विरक्तिएको जस्तो देखिन्छन् । उनले राजतन्त्रको समाप्तिपछि बाहिरी राजनीतिमा नदेखिएका पूर्व राजालाई जबरजस्ती राजनीतिमा तान्ने प्रयास गरे । लिङ्देनसँग पराजित भएलगत्तै थापाले पूर्व राजा ज्ञानेन्द्र शाहले आफूलाई हराउन षडयन्त्र गरेको भन्दै आक्रोष व्यक्त गरे ।

ज्ञानेन्द्र शाहको फेक आइडीलाई मेन्सन गर्दै थापाले निर्मल निवासले आफूलाई हराउन भूमिका खेलेको उल्लेख गरेका छन् ।त्यसैगरी पूर्वयुवराज्ञी हिमानी शाहको फेक आइडीमा आएको एक ट्वीट शेयर गर्दै राजसंस्था पुनः स्थापना हुन लागेकोमा बधाई भनेर फितलो धारणा व्यक्त गरे ।

आफ्नो पक्षका नेताहरुलाई याक एन्ड यति होटलमा जम्मा पारेर राजतन्त्र पुनस्र्थापनाको नीति नछाडेपनि पूर्व राजा ज्ञानेन्द्र शाहलाई अब बोकेर हिँड्न नहुने प्रस्तावमा सहमत गराएका छन् ।थापाको असन्तुष्टी यतिमै सिमित रहेन । नवनिर्वाचित कार्यसमितिको सपथग्रहण कार्यक्रममासमेत गएनन् । थापा यतिमै सिमित रहेनन्, फेसबुकमा एउटा कविता उल्लेख गर्दै आफ्नो मन फाटेको र अब केले सिउने भनेर विलौना गरे ।

यि घटनाक्रमले पार्टीमा फेरि फुटको बिजारोपण हुने हो कि भन्ने शंका पनि उत्पन्न भएको छ । थापा नेतृत्वभन्दा बाहिर बसेर पार्टीहितको काम गर्न सक्दैनन् कि भन्ने आशंकालाई बल दिएको छ । तर, उनी निकटका नेताहरु भने यस्तो आरोप स्वीकार्न तयार छैनन् ।

राप्रपाको यो महाधिवेशनमा अध्यक्षका दुवै उम्मेदवारले अघि सारेको नीति एउटै थियो । बस्, फरक थियो त, पात्रको छवि र उमेर । यो महाधिवेशनको सबैभन्दा सुखद पक्ष भनेको नेपाली राजनीतिको नेतृत्वमा युवाहरुले हस्तक्षेप सुरु गरेका छन् ।

अब हुने नेपाली कांग्रेसको महाधिवेशनलाई समेत केही न केही असर पार्नसक्ने हो कि भन्ने सम्भावना पनि बढेको छ । किनकी त्यो दलमा पनि बढी मात्रामा युवाहरु नै केन्द्रिय प्रतिनिधिका रुपमा चयन भएर आएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको