January 18, 2022, Tuesday
२०७८ माघ ५, बुधबार

एमालेको १०औं महाधिवेशन : सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल

चितवन, मंसिर ११। नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १०औं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएको छ । महाधिवेशनबाट आगामी पाँच वर्षका लागि नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयास नेताहरूले गरेका थिए ।

तर सर्वसम्मत नेतृत्वको प्रयास अझै जारी नै रहेको नेताहरू बताउँछन् । शनिबार विभिन्न पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ । शुक्रबार उद्घाटन सत्र सकेको एमालेले आइतबार मतदानबाट नेतृत्व चयन गर्दै छ ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले मतदानका लागि आवश्यक सबै तयारी पूरा भएको बताए । विद्युतीय मेसिनबाट मतदान गर्ने र सोही दिन मतपरिणाम पनि सार्वजनिक गर्ने उनले बताए । चितवनको नारायणी नदी किनारमा उदघाटन सत्र सकेर सौराहामा बन्द सत्र शनिबारदेखि सुरु हुँदै छ । शुक्रबार राति नै एमालेको केन्द्रीय कमिटीको अन्तिम बैठक सौराहामै बसेको छ ।

एमालेको प्रथम विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्थाअनुसार १०औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र सात जना सचिव गरी १५ जना पदाधिकारीसहितको २ सय २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

हालै ललितपुरमा सम्पन्न एमालेको प्रथम विधान महाधिवेशनले यस्तो व्यवस्थासहितको विधान पारित गरेको हो । तर, शीर्ष नेताहरूलाई व्यवस्थापन गर्न समस्या भएको महाधिवेशनको बन्दसत्रबाट पदाधिकारी संख्या बढाउने समेत छलफल हुने दाबी नेताहरूले गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको