
काठमाडौं, सरकारले करको दायरा बढाएसँगै करदाताको सङ्ख्या वृद्धि भएको छ । आन्तरिक राजस्व विभागका अनुसार नेपालमा हालसम्म व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या ४० लाख नाघेको जनाएको छ ।
आर्थिक वर्ष २०७७÷७८ को असार मसान्तसम्म व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको सङ्ख्या ४० लाख ४९ हजार १०९ पुगेको विभागले जनाएको छ ।
व्यक्तिगत करदाता २४ लाख ७१ हजार ७२६ र व्यावसायिक करदाता १५ लाख ७७ हजार ३८३ छन् । आव २०७७÷७८ मा दुई लाख ४५ हजार ५६१ व्यावसायिक करदाता र पाँच लाख १७ हजार ३८३ व्यक्तिगत करदाता थपिएका छन् ।
यसैगरी कोरोना महामारीका बाबजुद पनि राजस्व असुलीमा ९५.३२ प्रतिशत प्रगति भएको विभागले जनाएको छ । आव २०७७÷७८ मा रु ४२९ अर्ब २० करोड राजस्व असुली भएको थियो । यो आव २०७६÷७७ को तुलनामा ११.६४ प्रतिशतले बढी हो ।
आव २०७७÷७८ मा रु ४५० अर्ब ३४ करोड राजस्व सङ्कलनको लक्ष्य राखिएको थियो। आव २०७७÷७८ मा मूल्य अभिवृद्धि करतर्फ रु तीन खर्ब दुई अर्ब १६ करोड लक्ष्य निर्धारण गरिएकामा रु दुई खर्ब ८७ अर्ब छ करोड असुली भएको छ ।







