
काठमाडौं – राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोगबु नवज्योति मार्गमा भएको विभित्स हत्याकाण्डका आरोपी कल्पना मुडभरी ( पाैडेल) लाई प्रहरीले पक्राउ पछि सार्वजनिक गरेको छ । कृष्ण बहादुर बोहराको हत्यामा संलग्न रहेको भन्दै हत्या आरोपमा पक्राउ परेकी कल्पना मुडभरी (पौडेल) लाई प्रहरीले मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
हत्यापछि चितवन पुगेकी कल्पना कलाकार समेत रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कल्पनाले केही चलचित्रमा अभिनय गरेकी पनि बुझिएको छ । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा चितवनबाटै १० कक्षामा अध्ययनरत उनकी छोरीलाई पनि पक्राउ गरेको छ । उनकी छोरी हत्या पछि शव व्यवस्थापनमा संलग्न रहेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार मृतक बिगत ८ महिनादेखि होटलमा बस्दै आएका थिए भने कल्पनासँग फेसबुकमार्फत चिनाजानी भएर निकटता बढेको थियो । हत्यापछि कल्पना एम्बुलेन्समार्फत् भागेर चितवन पुगेकी थिइन् । गोंगबुमा शनिबार साँझ भएको हत्याकी अभियुक्त कल्पना मुठभरी पौडेलले हत्या गर्नुको कारण खुलाएकी छिन् । उनले प्रहरीसँगको बयानमा नक्कली आइडी बनाएर फेसबुकमा नग्न तस्बिरहरु सार्वजनिक गरी ब्ल्याकमेल गर्न थालेपछि हत्या गरेको बयान दिएकी छिन् ।

अपराध महाशाखाका एसएसपी दिपक थापाले बोहराले नक्कली फेसबुक आइडी बनाएर कल्पनालाई दुःख दिन थालेपछि नै हत्या गरेको बयान दिएको खुलाएका छन् । बोहराले आफ्नो इच्छाबमोजिम चल्न कल्पनालाई वाध्य पारेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । तस्बिर सार्वजनिक गर्दै दुःख दिन थालेको झोकमा हत्या गरेको भनेकी छिन् ।

हत्या गर्नुअघि शुरुमा बेहोश पार्ने औषधी खुवाएको र घाँटी थिचेर हत्या गरेको बयानमा भनेकी छिन् । त्यसपछि शव व्यवस्थापन गर्न हतियारको प्रयोग गरी टाउको र खुट्टा समेत अलग गरी सुटकेशमा राखेकी थिइन् । राति नै सुटकेशमा राखेको शव फालेकी थिइन् । यसअघि आइतबार फेला परेको टाउको र खुट्टा अलग अवस्थाको शव पहिचानसँगै घटनाबारे तथ्य खुलेको थियो । कृष्णबहादुर र कल्पना दुवै विवाहित हुन् । तर, कल्पना केही समय देखि पतिबाट अलग बस्दै आएकी छिन् ।उनीहरु फेसबुकमार्फत् चिनजानमा आएका थिए ।

शनिबार साँझ सँगै बियर खाएर बसेका थिए । मादक पद्धार्थ सेवन गर्ने क्रममा कल्पनाले कृष्णबहादुरलाई बेहोस हुने औषधी मिसाएर खुवाएकी थिइन् । त्यसपछि उनको हत्या गरेको उनको बयान उदृत गर्दै प्रहरीले जनाएको छ । हत्यापछि महिला चितवनको टाँडीस्थित माइतीघर पुगेकी थिइन् । उनलाई सोमबार पक्राउ गरी अनुसन्धान बढाइएको थियो ।दाङ घर भएका कृष्णबहादुर बोहरा रात नै बस्ने गरी महिलाको कोठामा पुगेका थिए । उनी गेष्ट हाउसमा बस्दै आएकोमा त्यहाँका सञ्चालकसँग दुई दिन आउँदिन भनेर हिंडेका थिए ।







