
मुस्ताङ, मुस्ताङमा आज ठूलो हिउँ पहिरो झरेको छ ।
आइतबार करिब ११ः३० बजेतिर मुस्ताङको थासाङ २ नजिक बोक्सीखोला एवं टुक्चे पिक क्षेत्रबाट झरेको हिउँ पहिरोमा परी ११ जना घाइते भएको छ ।
घाइते हुनेमा अनु देसार, दीपेन्द्र लामिछाने, संगम बरुवाल, मिलन पुन, अमृता रोकाय, सुजिना केसी, वीरेन्द्र लामिछाने, अनुष्का विक, स्नेहा किसन, कारिसा विक, सुशीला थापा रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
थासाङ गाउँपालिकाका उपाध्यक्ष बालकुमारी शेरचनका अनुसार हिउँ पहिरोका कारण जनआदर्श अम्मरसिंह माविका केही शिक्षक तथा विद्यार्थीहरू सामान्य घाइते भएका छन् भने उनीहरू धुलाम्य र हिलाम्य बनेका थिए ।
यस्तै हिउँ पहिरो प्रभावितहरूलाई उपचारार्थ मुस्ताङ जिल्ला अस्पतालमा भर्ना गरिएको छ । घटनालगत्तै नेपाल प्रहरी र नेपाली सेनाका टोली घटनास्थलमा पुगेर उद्धारमा जुटेका थिए ।
यसैगरी टुक्चे हिमाल क्षेत्रबाट ठूलो मुस्लोसहित आएको हिउँले उक्त क्षेत्रबाट करिब पाँच किलोमिटर वरपरसमेत धुलाम्य बनाएको थियो ।







