December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

आज महागुरु फाल्गुनन्दको १३७औँ जयन्ती मनाइँदै

काठमाडौं, किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३७औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो ।

किराँत भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गरेका थिए । जसलाई सत्य धर्म मुचुल्का भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो ।

किराँत समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गरेका फाल्गुनन्दको निधन विसं २००५ मा भएको थियो । किराँत समाज सुधारमा उनले पुऱ्याएको योगदानको कदर गर्दै उनलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

उनको योगदानको कदर गर्दै किराँती समुदायको बसोवास रहेको पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायत किराँत समुदायको बसोवास भएका जिल्लामा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ । राजधानीमा पनि विभिन्न कार्यक्रम गरी किराँत समुदायले महागुरु फाल्गुनन्द जयन्ती मनाउने गरेको किराँत ज्योतिष सङ्घका अध्यक्ष चन्द्रकुमार शेर्माले जानकारी दिए ।

राष्ट्रपतिको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारी १३७ फाल्गुनन्द जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत धमावलम्बीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।

फाल्गुनन्द जयन्तीका अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपतिले सभ्य र सुसंस्कृत समाज निर्माणका अभियन्ता महागुरु फाल्गुनन्दका प्रेरणादायी उपदेश र मार्गदर्शनलाई अनुशरण गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सवल बनाउन सकिने विश्वास व्यक्त गरिन ।

शीर्ष समाचार

धेरै पढिएको