
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा श्रीकृष्ण जन्माष्टमी पर्वको शुभकामना दिदै यस पर्वले धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्न मद्दत पु¥याउने विश्वास व्यक्त गरेकी छन् । सन्देशमा राष्ट्रपतिले ‘श्रीकृष्ण जन्माष्टमी पर्वले हामी सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्री भावना जागृत गरी हामीबीचको भावनात्मक एकता अझ सुदृढ बन्न सकोस् भनी सबैमा शुभकामना प्रकट गर्दछु ।
’’ ‘‘द्वापर युगमा कंसको अत्याचार बढेपछि त्यसबाट मानव जातिको उद्धार गर्न बासुदेव र देवकीको आठौँ सन्तानका रूपमा आजकै दिन भगवान श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रहेको छ’’ राष्ट्रपतिको सन्देशमा उल्लेख गरिएको छ । यसैबीच भाद्र कृष्ण अष्टमीका दिन आज भगवान् श्रीकृष्णको जन्म दिन मनाइँदै छ ।
द्वापर युगमा भारतको मथुरामा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णित छ । पिता वासुदेव र माता देवकीको कोखबाट यसै दिन जन्म भएका भगवान् श्रीकृष्ण ज्ञान, कर्म र भक्ति योगका संस्थापकका रूपमा मानिन्छ । कोरानो भाइरस (कोभिड–१९) को प्रभाव बढिरहेका बेला सचेत भएर कृष्णाष्टमी मनाइँदै छ । ‘‘धर्तीमा दुष्ट र पापीको अत्याचार रहँदा म पुनः धर्तीमा आउने छु र धर्मको उत्थान गर्नेछु,’’ भन्ने उद्घोषलाई मनन गर्दै कृष्णाष्टमी मनाउने गरिन्छ ।
भगवान् श्रीकृष्णको बाल्यकालको बाल सुलभता, गोपिनीसँगको प्रेम स्नेह र बाँसुरीको धुनद्वारा सबैलाई मोहित गराउने प्रेमगाथालाई उहाँका भक्तजनले आजसम्म अल्हादित हुँदै संस्मरण गर्दै आएका छन् । आश्विन शुक्ल अष्टमीको कालरात्रि, कात्तिक कृष्ण औँसीको सुखरात्रि, फागुन कृष्ण तृतीयाको महाशिवरात्रि र यो भाद्र कृष्ण अष्टमीको मोहरात्रि गरी यी चार रातको निकै महìव रहेको शास्त्रमा वर्णित छ ।







