
काठमाडौं, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनका क्रममा भक्तपुरका तीन मिठाई पसल कारबाहीमा परेको छ ।
विभागका अनुसार सरसफाईमा ध्यान नदिएको, मूल्य सुची नराखेको लगायत कसुरमा तीन मिठाई पसललाई ५ हजार रुपैयाँको दरले १५ हजार जरिवाना गरिएको हो ।
भक्तपुरमा रहेका धनुषा एण्ड धनुषा मिठाई, शंखधर मिठाई पसल र गुप्ता एण्ड स्वीट हाउसलाई जरिवाना गरिएको विभागका शाखा अधिकृत धनेश्वर पौडेलले जानकारी दिए ।
उनले भने, ‘मूल्य सूची नभएको, सरसफाईमा ध्यान नदिएको र बिलबिजक जारी नगरेको फेला परेपछि उपभोक्ता सरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड घ बमोजिम कसुर गरेको ठहर हुन्छ । ऐनको दफा ३९ को उपदफा १ को खण्ड क बमोजिम ५ हजारको दरले जरिवाना गरेका छौँ ।’







