December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान

काठमाडौं, औपचारिक भ्रमणको सिलसिलामा प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन् । भारतका स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेको औपचारिक निमन्त्रणामा उनी ९ सदस्यीय भ्रमण दलसहित आज दिल्ली प्रस्थान गरेका हुन् ।

प्रधान सेनापति भएपछि शर्माको यो पहिलो विदेश भ्रमण हो । उक्त भ्रमणको समयमा प्रधान सेनापति शर्मालाई कार्तिक २४ गते भारतका राष्ट्रपति राम नाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्हबाट सुशोभन गर्ने कार्यक्रम रहेको छ ।

नेपाली सेनाको मध्य एयर बेश, गौचरमा उनलाई बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गरेका थिए भने भारत प्रस्थान गर्नुअघि प्रधान सेनापति शर्मालाई सोमबार जंगी अड्डामा सम्मान गारत अर्पण गरिएको थियो ।

शर्माले आजै भारतीय रक्षा सचिव अजय कुमार, भारतीय चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, भारतीय सेनाध्यक्ष जनरल एम एम नरवणे र भारतीय वायु सेनाध्यक्ष एयर चिफ मार्शल भि आर चौधरीसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी शर्माले विभिन्न भारतीय उच्चपदस्थ पदाधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ । नेपाली सेनाका अनुसार प्रधान सेनापति शर्माको भारत भ्रमणको अवधिभर बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन् ।

शीर्ष समाचार

धेरै पढिएको