December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

टी–२० विश्वकपमा भारत न्युजिल्यान्डसँग ८ विकेटले पराजित

काठमाडौँ ,जारी ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा भारत आफ्नो दोस्रो खेलमा पनि पराजित भएको छ । आइतबार भएको खेलमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले हराएको हो ।

भारतले दिएको १११ रनको लक्ष्य न्युजिल्यान्डले १४.३ ओभरमै २ विकेट गुमाएर पूरा गरेको हो । न्युजिल्यान्डको उत्कृष्ट बलिङसामु निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै भारत ११० रनमै समेटिएको थियो ।

न्युजिल्यान्डका लागि डेरिल मिचेलले सर्वाधिक ४९ रन बनाए भने केन विलियम्सनले नटआउट ३३ रन बनाउँदा मार्टिन गुप्टिलले २० रनको योगदान गरे । भारतका लागि जसप्रीत बुमराले २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतका लागि रवीन्द्र जडेजाले सर्वाधिक २६ रन बनाएका थिए । भारतका ओपनिङ ब्याट्सम्यान केएल राहुल १८ रनमा आउट भएका थिए । त्यस्तै अर्का ओपनर इशान किशनले मात्र ४ रन बनाए । रोहित शर्माले १४ रन बनाए भने कप्तान विराट कोहली पनि ९ रनमै आउट भए । आइतबार ऋषभ पन्तको पनि ब्याट चलेन । उनले १९ बल खेलेर मात्र १२ रन बनाए । त्यस्तै २४ बल सामना गरेका हार्दिक पाण्ड्याले २३ रन बनाए ।

न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टले उत्कृष्ट बलिङ गरेका थिए । उनले ४ ओभरमा २० रन खर्चिँदै ३ विकेट लिए । त्यस्तै इश सोधीले २ तथा टिम साउथी र आडम मिल्नले १–१ विकेट लिए ।

लगातार २ खेल हारेपछि भारतका लागि सेमिफाइनलमा स्थान बनाउन कठिन हुने भएको छ । समूहमा पाकिस्तान ३ खेलमा जित हात पार्दै ६ अंकसहित शीर्ष स्थानमा छ भने ३ खेलमध्ये २ मा जित हात पारेको अफगानिस्तान ४ अंकसहित दोस्रो स्थानमा रहेको छ । भारतले अब अफगानिस्तान, नामिबिया र स्कटल्यान्डसँग खेल्न बाँकी छ ।

शीर्ष समाचार

धेरै पढिएको