
नेपाली राष्ट्रिय फुटबल टोली साफ च्याम्पियनसिप २०२१ को फाइनलमा प्रवेश गरेको छ । बुधबार मालेस्थित राष्ट्रिय रंगशालामा बंगलादेशसँग लिग चरणको अन्तिम खेलमा १-१ को बराबरीमा सकिएपछि नेपाल इतिहासमै पहिलो पटक फाइनल प्रवेश गर्न सफल भएको हो । पहिलो हाफमा सुमन रेजाको गोलमा बंगलादेशले अग्रता लिएको थियो । दोस्रो हाफमा उच्च प्रदर्शन गरिरहेका बंगलादेशका गोलरक्षक अनिसुर रहमानले रातो कार्ड खाएपछि नेपालले खेलमा फर्कने अवसर पाएको थियो । अन्जन विष्टले ८६ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै नेपालको फाइनल यात्रा पक्का गरेका थिए ।नेपाललाई फाइनल पुग्न एक अंक चाहिएकोमा बंगलादेशलाई राउन्ड रोबिनको आफ्नो अन्तिम खेलमा १–१ को बराबरीमा रोकेको हो ।

नेपालको चार खेलबाट सात अंक भएको छ ।बंगलादेश भने चार अंकमै सीमित रह्यो र प्रतियोगिताबाट बाहिरियो । जित अथवा बराबरीमा फाइनल पुग्ने समीकरणमा रहेको नेपालले यो बराबरी नतिजा निकालेको हो । नेपालले माल्दिभ्स र श्रीलंकालाई हराएयता भारतविरुद्धको खेल गुमाएको थियो । फाइनलमा नेपालको प्रतिद्वन्द्वी बुधबारकै दोस्रो खेलले गर्नेछ । त्यस खेलमा आयोजक तथा डिफेन्डिङ च्याम्पियन माल्दिभ्स र भारत खेल्दैछन् ।

बंगलादेशले नवौं मिनेटमा अग्रता लिएको हो । रेजाले हेडबाट गोल गरे ।फ्रिकिकमा प्राप्त बललाई अन मार्क रहेका रेजाले सजिलै गोल गरे । खेलको १५ औं मिनेटमा रोहित चन्द नजिकको दूरीबाट गोल गर्न चुके । गौतम श्रेष्ठले निकालेको पासमा उनको प्रहार बाहिरिएको थियो । दोस्रो हाफको ५२ औं मिनेटमा रेजा नै नेपाली गोलरक्षक किरण लिम्बूविरुद्ध वान टु वानमा बललाई पोस्टको दिशा दिन चुके । त्यसमा किरणले उत्कृष्ट बचाउ गरेका हुन् ।







