
काठमाडौं , केन्द्रीय तथ्याङ्क विभागले हरेक १० वर्षमा गर्ने राष्ट्रिय जनगणनाको १२औँ शृङ्खलामा पहिलोपटक पूर्णगणना गरिने भएको छ । यो जनगणना विसं २०७८ जेठ २५ देखि असार ८ गतेसम्म सञ्चालन हुनेछ ।यस जनगणनामा सम्पूर्ण घरको प्रयोजनसहितको गणना, प्रविधिको प्रयोग, सामुदायिक प्रश्नावलीको प्रयोग विषयगत प्रतिवेदन र तथ्याङ्कमा सुलभ पहुँच हुने विभागले जनाएको छ ।
विभागका निर्देशक ढुण्डीराज लामिछानेले जनगणना तयारीबारे प्रस्तुतीकरण गर्दै हालसम्म सङ्घ, प्रदेश र स्थानीय तहबाट मस्यौदा प्रश्नावलीमा सुझावहरु सङ्कलन, तहगत समन्वय, सहकार्य र सहयोगसम्बन्धी अध्ययन प्रतिवेदन तथा प्रदेश सरकारको संलग्नतामा प्रदेशस्तरीय अन्तक्र्रिया कार्यक्रम र ७७ जिल्लामा सचेतना तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भइसकेको जानकारी दिएका छन् ।
केन्द्रीय तथ्याङ्क विभागले हरेक १० वर्षमा गरिने जनगणना विसं १९६८ देखि सञ्चालन गर्दै आएको छ । गत आर्थिक वर्षदेखि तयारी शुरु गरिएको यस गणनामा नेपालको जनसङ्ख्या तीन करोड पुग्ने अनुमान गरिएको छ ।नेपालमा हालसम्म ११ जनगणनाहरु सम्पन्न भइसकेका छन् । पहिलो जनगणना विसं १९६८ चन्द्रशम्सेरका पालामा भएको थियो । पहिलो चार जनगणनाहरू विसं १९६८, १९७७, १९८७ र १९९८ मा व्यक्ति–व्यक्ति गनेर गरिएको थियो । त्यस्तै विसं २००८ मा पाँचौँ गणनाको तयारी हुँदाहुँदै राणाशासनविरुद्धको जनआन्दोलनले गर्दा गणनाको काम बीचैमा रोकिएको थियो ।
विसं २००९÷११ को गणना (पाँचाै) अन्तर्राष्ट्रियरूपमा तुलनायोग्य, विसं २०४८ गणनामा पहिलोपटक लैङ्गिक तथा समावेशी गरिएको थियो भने विसं २०५८ मा पहिलोपटक राष्ट्रिय दिवसका रूपमा जनगणना दिवस (असार ८ गते) मनाउन थालिएको हो । विसं २०६८ मा जनगणनाको १०० वर्ष पूरा, ११अाैँ जनगणनामा पशुपक्षीको समेत पूर्ण गणना गरिएको थियो भने विसं २०७८ हुने गणना सङ्घीय संरचनामा पहिलो जनगणना हुनेछ । राैतहट अनलाइनबाट
जनगणनाको संस्थागत व्यवस्था हेर्दा सबैभन्दा माथि राष्ट्रिय योजना आयोग, केन्द्रीय तथ्याङ्क विभाग, सामाजिक तथ्याङ्क महाशाखा, जनसङ्ख्या शाखा, प्रदेश जनगणना कार्यालय, जिल्ला जनगणना कार्यालय, स्थानीय जनगणना कार्यालय रहेको छ । यस गणनामा नौ हजार सुपरीवेक्षक र ४३ हजार गणक रहने लामिछानेले बताए ।





