
काठमाडौं,सरकारले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका र घर फर्कन टिकट काट्न नसक्ने नेपालीको निःशुल्क उद्धार प्रक्रिया थालेको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले निःशुल्क उद्धार निर्देशिका अनुसार श्रम स्वीकृति लिएर विदेश गएर अलपत्र परेका नागरिकको उद्धारका वैदेशिक रोजगार कल्याणकारी कोषको ७५ करोड रुपियाँ रकम छुट्याइएको छ । बोर्डका सूचना अधिकारी दीनवन्धु सुवेदीले निर्देशिकाअनुसार बजेट छुट्याइएको र परराष्ट्र मन्त्रालयमार्फत दूतावासले पठाउने विवरणका आधार बोर्डले कोषको रकम दूतावासमा निकासा गरिने जानकारी दिए ।
विदेशमा रहेका नेपाली दूतावासले कोरोनाका कारण समस्यामा परेका नेपाली श्रमिकलाई यथार्थ विवरणसहित आवेदन लिन सुरु गरेकाले अर्को सातादेखि रकम माग आउने पनि उहाँले जानकारी दिनुभयो । वैदेशिक रोजगार कल्याणकारी कोषको रकममार्फत नेपाली श्रमिक स्वदेश फर्काउन सरकारले जारी गरेको निर्देशिकाको मापदण्डभित्र रहेका श्रमिकलाई आवेदन दिन दूतावासहरूले आग्रह गरेका छन् ।
कोरोना महामारीका कारण विदेशमा रोजगारी गुमाएका र घर फर्कन टिकट काट्न नसक्ने अवस्थामा रहेकाको वैदेशिक रोजगार कल्याणकारी कोषको रकममार्फत उद्धार गर्ने निर्णयअनुसार सरकारले तोकेको मापदण्डमा पर्ने श्रमिकको उद्धारका लागि दूतावासले सूचना जारी गर्न थालेकाे हाे ।
ओमान र मलेसियामा प्रक्रिया सुरु : मलेसिया र ओमानमा रहेका नेपाली दूतावासले विदेशबाट आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने अवस्थाका श्रमिकको तथ्याङ्क सङ्कलन सुरु गरेका छन् ।
ती दूतावासले रोजगारी गुमेर घर फर्कन टिकट काट्न नसकेका श्रमिकलाई आवेदन दिन अनुरोध गरेका छन् । दूतावासका अनुसार तोकेको निवेदन ढाँचाअनुसार आफ्नो विवरण भरेर दूतावासमा उपस्थित भएर वा इमेल वा हटलाइन वा ह्वाट्स एपमार्फत निवेदन पेस गर्न सकिने पनि व्यवस्था गरेका छन् । निवेदकलाई निवेदन दिँदा राहदानी र रोजगारी करार पत्रको प्रतिलिपिसँगै पेस गर्नसमेत दूतावासले आग्रह गरेका छन् । आजकाे गाेरखापत्र दैनिकबाट





