
सिन्धुपाल्चोक बाह्रबिसे – ठाउँ ठाउँमा बाढि पहिराेले अबराेध गरेकाे सडक सञ्चालनमा आएकाे छ । भोटेकोसी नदी, एल्मो ठाडोखोला र खाग्दल खोलाले ठाउँठाउँमा कटान गरी बन्द भएको बाह्रबिसे लिपिङ सडक मर्मतपछि सञ्चालनमा आएको छ । असार २४ गते राति भोटेकोसी नदीको भीषण बाढी, एल्मो र खाग्दल खोलामा आएको भीषण बाढीले २६ किलोमिटरको उक्त सडकको अधिकांश खण्ड कटान गरेको थियो ।
सडक डिभिजन कार्यालय, विद्युत् आयोजना, स्थानीय तह, व्यवसायी लगायतको पहलमा सडक मर्मत गरिएपछि यातायातका साधन बिस्तारै चल्न थालेकाे छ। झन्डै चार साता पूर्ण रूपमा बन्द रहेको यो सडकखण्ड अस्थायी रूपमा सञ्चालनमा आएपछि तातोपानी छोडेर राजधानी बस्न जानेहरू बढ्न थालेका छन् ।
जम्बुस्थित एल्मो खोलाको बाढी र बुल्कुटे खोलाको बाढीले उक्त दुई स्थानमा रहेको मोटरेबल पुल पनि बगाएको थियो । मोटरेबल पुल बगाएपछि ठाडो खोलाबाटै ह्युमपाइप राखेर अस्थायी रूपमा सडक सञ्चालन गरिएको छ । साथै खाग्दलको खोलामा डाइभर्सन गरी सडक खुलाइएको छ । तत्कालका लागि उक्त सडक अस्थायी रुपमा सञ्चालन भएको बुझिएको छ ।





