
काठमाडौं , त्रिभुवन विश्वविद्यालय कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित परीक्षा तत्कालै सञ्चालन गर्ने निर्णयबाट पछि हटेको छ । कोरोना सङ्क्रमित बढेका र राजधानीलगायत मुख्य सहरी क्षेत्रसमेत सङ्क्रमणको जोखिममा पर्न सक्ने सम्भावना औँल्याइएपछि विश्वविद्यालयले तत्काल परीक्षाको निर्णय लिने सम्भावना टरेको हो ।
विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले स्थगित परीक्षा भदौ पहिलो साताबाट पुनः सञ्चालन गर्ने पूर्वनिर्णयबाट आफूहरू पछि हटेको बताए । अब स्थगित परीक्षाको निर्णय लिने विषयमा आफूहरू पर्ख र हेरको अवस्थामा रहेको उनकाे भनाइ छ । विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तर तहका विभिन्न परीक्षा गत चैतदेखि स्थगित छन् । सरकारको आग्रहपछि सरकारले चैत ७ गते परीक्षा स्थगित गर्ने निर्णय लिएको थियो । विश्वविद्यालयले कोरोना भाइरस पछिको अवस्थामा परीक्षा सञ्चालनबारे निर्णय गर्न डिन कार्यालयहरूलाई अधिकार दिएको छ ।
डिनहरूले पनि तत्काल परीक्षा सञ्चालन गर्न सक्ने अवस्था नरहेको जानकारी दिएका छन् । अब स्थगित परीक्षा दसैँअघि हुने सम्भावना न्यून हुँदै गएको छ । परीक्षा सञ्चालनको तयारी गरिए पनि विद्यार्थीसँग सम्पर्क हुन नसकेको र सहज रूपमा सार्वजनिक यातायात सञ्चालन हुन सक्ने परिस्थिति नभएसम्म परीक्षा लिन असम्भव रहेकाे छ ।
विश्वविद्यालयको परीक्षा देशभर एकै पटक लिनुपर्ने भएकाले पनि सङ्क्रमणको अवस्था सामान्य अवस्थामा आउनैपर्नेछ ।विकल्प खोजिने यसैबीच विश्वविद्यालयले सङ्क्रमण बढ्दै गई पुनः बन्दाबन्दी हुने र अझै केही महिना परीक्षा सञ्चालन हुन नसक्ने स्थिति आए परीक्षा सञ्चालनको नयाँ विकल्पबारे सोच्ने जनाएको छ ।
परीक्षा नियन्त्रक जोशीले पुनः केही महिनामै बन्दाबन्दी हुने परिस्थिति उत्पन्न भए परीक्षाको विकल्प खोजिने बताउनुभयो । हाल विश्वविद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमा हुने परीक्षाको माध्यमबाट मात्रै विद्यार्थीको मूल्याङ्कन गरी माथिल्लो कक्षामा चढाउने गरेको छ । गाेरखापत्रदैनिक





