September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

आजबाट पोखरा–नेपालगन्ज उडान सुरु, सातामा तीन दिन नियमित उडान हुने

पोखरा, आजबाट बुद्ध एयरले पोखरा–नेपालगन्ज सिधा हवाइ उडान सुरु गरेको छ । आइतबारदेखि सातामा ३ दिन आइतबार, बुधबार र शुक्रबार नियमित उडान हुने बुद्ध एयरले जनाएको छ ।

हाल १८ सिट क्षमताको १९०० डी बीच क्राफ्ट जहाजमार्फत उडान थालिएको बुद्ध एयर पोखराका प्रमुख गौतम बरालले जानकारी दिएका छन् ।

पोखराबाट बिहान ९–१० बजे र नेपालगन्जबाट १० बजे उडान हुनेछ । एकतर्फी उडानको समय ३५ मिनेट रहेको छ भने भाडादर ७ हजार ६ सय ३५, ५ हजार ५ सय ३५ र सस्तोमा ४ हजार ९ सय ३५ रुपैयाँ तोकिएको छ ।

यसअघि सीता एअरले गत फागनु ७ देखि लकडाउन हुने बेलासम्म सातामा दुई दिन चार्टर उडान गर्दै आएको थियो । तालिकामा भने पहिलोपटक बुद्धले उडान थालेको हो ।

यस्तै हाल काठमाडौं, भैरहवा र भरतपुर नियमित उडान गर्दै आएको बुद्धले छिटै विराटनगर र सिमरा उडान थाल्ने बताएको छ ।

शीर्ष समाचार

धेरै पढिएको