
काठमाडौँ, जग्गामा हुने विवाद समाधान गर्न नापी विभागले डिजिटल प्रविधिबाट जग्गाको नापजाँच र साँध सँधियार छुट्याउने काम अगाडि बढाएको छ । यसबाट जग्गा नापी थप वैज्ञानिक, तथ्यपूर्ण र पारदर्शी हुने बताइएको छ । यसबाट जमिनको साँध सिमाना यथार्थ हुने भएकाले हाल प्रचलित नापी प्रणालीको जस्तो विवाद नहुने बताइएको छ ।नापी विभागका अनुसार यसै महिनादेखि देशभर नै नयाँ प्रक्रिया लागूभएको छ ।
विभागका निर्देशक दामोदर ढकालले साँध सँधियारले हचुवा तरिकाले देखाएको भरमा साँध लगाउने र चार किल्ला तोक्ने प्रवृत्ति अब अन्त्य हुने बताए । उनका अनुसार, अहिले नाप जाँचमा योग्य दक्ष कर्मचारी भित्रिएका छन् । उनले भने ‘डिजिटल पद्धतिको नाप जाँच प्रविधि भित्रिएको छ, उहिल्यैको जस्तो अब छैन । ’विगतमा गरिएको नापी नक्साले कतिपय अवस्थामा जग्गाको हाल साबिकको अवस्था अहिले नमिल्न सक्छ, कतिपय स्थानमा यो मिलेको छैन, यस्तोमा भएको विवाद डिजिटल प्रविधिबाट अब निरुपण हुने निर्देशक ढकालको भनाइ छ ।
खेती, उद्योग, विकास निर्माण गरिने जग्गाको उचित संरक्षण यो प्रविधिको नाप नक्साबाट हुने उनले स्पष्ट पारे । अधिग्रहण गरिएका जग्गाको मुआब्जा वितरण, जमिनको वैज्ञानिक कर वा सेवाग्राहीलाई आवश्यक पर्दा अनलाइन विवरण यो प्रविधिबाट दिन सकिन्छ । विगतमा भएका कतिपय नापी त्रुुटिपूर्ण रहेको बताउँदै उहाँले उहिल्यैको कर्मचारी र नागरिकको चेतनाका कारण त्रुटि भएकोमा अब यो प्रविधिबाट त्रुटि सच्चिएर यकिन नाप नक्सा आउने बताए। काठमाडौँ महानगरपालिकाका इञ्जिनियर वीरबहादुर कार्की यो प्रविधिबाट साँध सिमानामा देखा परेका विवाद हट्ने बताउछन् । काठमाडौँँ उपत्यकामा यसको हाल प्रयोग भइरहेको छ ।
गुठी संस्थानका इञ्जिनियर एवं प्रवक्ता सरोज थपलियाले यो प्रविधिको उपयोगले समाजमा सीमा साँध विवाद सल्ट्यार छरछिमेक, सँधियार, समाजमा शान्ति कायम राख्न र विकास निर्माणमा मद्दत गर्छ भन्छन् । वि.सं.२०२१÷२२ सालमा काठमाडौँँ उपत्यका र पहाड तथा २०३३ सालमा तराईका जग्गा नाप नक्सा हुँदा फित्ताले नाप्ने प्रविधि उपयोग भएको थियो । हालसम्म त्यसैको निरन्तरता दिइने गरिएको छ । गाेरखापत्र दैनिकबाट





