
कञ्चनपुर – कञ्चनपुरकि बालिका निर्मला पन्तको बलात्कार पछि हत्या घटनामा प्रमाण नष्ट गरेकाे आराेप लागेका प्रहरीहरुफाई सफाइ दिइएको छ । कञ्चनपुर जिल्ला अदालतले बलात्कार र हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आरोप लागेका आठ जना प्रहरीलाई सफाइ दिएको हाे । सफाइ पाउनेमा दिल्लीराज बिष्टसहित प्रहरी नायब उपरीक्षक अङ्गुर जिसी, ज्ञानबहादुर सेटी, इन्सपेक्टर एकिन्द्र खड्का, जगदीश भट्ट, सइ हरिसिंह धामी, रामसिंह धामी र प्रहरी हवल्दार चाँदनी साउद रहेका छन् । उनीहरुमाथि निर्मला पन्त बलात्कार र हत्या घटनाको प्रमाण नष्ट गरेको आरोप लागेको थियो ।
यसैगरी, हिरासतमा राखेका व्यक्तिलाई यातना दिएको आरोप पनि लगाइएको थियो । साथीको घरमा गृहकार्य गर्न गएकी १३ वर्षीया बालिका निर्मलाको २०७५ साउन ११ गते उखुबारीमा शव फेला परेको थियो ।सार्वजनिक न्याय विरुद्धको कसुर र यातना सम्बन्धी कसुरमा आठै जना प्रहरीले सफाइ पाएको हाे। जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजालसले आरोपित सबै जनालाई सफाइ दिएको उनले बताए ।
निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह बिष्टका दाजु खडक सिंहले प्रहरी विरुद्ध जाहेरी दिएपछि सरकारी वकिलको कार्यालयले प्रहरीविरुद्ध मुद्दा चलाएको थियो । मुद्दामा मुछिएका सबै जना निर्दोष रहेको अदालतले बिहीबार फैसला गरेको छ ।





