
मंगलबार रातिदेखि बुधबार दिनभरि परेको अविरल वर्षाले कैलालीका विभिन्न बस्ती आसपासका खहरे, खोला र नदीमा आएको बाढीले पूर्वोत्तर क्षेत्र पूरै डुबानमा परेको छ । बाढीले बगाएर भजनी नगरपालिका–८ का तीन जना बेपत्ता भएका छन् । डुबान क्षेत्रमा पाँच हजारभन्दा बढी परिवार विस्थापित छन् ।जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रतीक विष्टका अनुसार हुलाकी सडकखण्डमा पर्ने भजनी–८ सुनाफाँटाका ईश्वरी शाह, चक्र विक र स्केल चौधरी बेपत्ता भएका छन् । ११ वर्षीय चौधरी घरनजिकै कुलोमा बगेर बेपत्ता भएका हुन् भने हुलाकी सडकमा बाढी तरेर आइरहेका चार जनामध्ये ईश्वर र चक्र बेपत्ता भएका हुन्
बिक्की शाह र हेमन्त शाहको स्थानीयले उद्धार गरेका थिए । मोहना, कान्ध्रा, काडा, पथरिया र कर्णालीको भँगालोमा आएको बाढीले भजनी, टीकापुर नगरपालिका, जोशीपुर, जानकी, बर्दगोरिया र कैलारी गाउँपालिकाका दर्जनौं बस्ती डुबानमा परेका छन् । उद्धारमा स्थानीय प्रहरी, सशस्त्र प्रहरी, सेना र स्थानीय तहको उद्धार टोली परिचालन भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए ।प्रजिअ बोहराका अनुसार भजनी नगरपालिकामा १ हजार ८ सय ८०, जानकी गाउँपालिकामा १ हजार, जोशीपुरमा २ हजार ३ सय १५ र टीकापुर नगरपालिकामा ५ सयजति परिवार विस्थापित भएका छन् ।

विस्थापितलाई स्थानीय आवास गृह र बाढी नपसेको ठाउँका स्कुल भवनहरूमा राखिएको छ । भजनीका केही वडामा गैरसरकारी संस्थाले सुरक्षित गृह बनाएका छन् । ‘अहिले उद्धार कार्यलाई प्राथमिकता दिइएको छ,’ प्रजिअ बोहराले भने, ‘वर्षा निरन्तर भइरहेको छ । बाढीको खतरा अझै बढ्ने देखिन्छ । जीउधनको क्षति हुन नदिन उद्धार कार्यलाई प्रभावकारी पार्नेतिर लागिएको छ ।’ कान्तिपुर दैनिकबाट
उनले तत्कालको राहतका लागि स्थानीय तहका विपद् व्यवस्थापन समिति र रेडक्रससँग समन्वय भएको बताए । उद्धार गरिएका परिवारलाई ड्राइफुड, खानेपानी र लुगाहरू उपलब्ध गराउने काम स्थानीय तहका विपद् व्यवस्थापन समितिबाट भइरहेको छ । उनका अनुसार घरभित्र बाढी पसेर करिब १० हजार परिवार प्रभावित भएका छन् ।
उक्त क्षेत्रमा घरभित्र बाढी पसेर अन्न, लत्ताकपडा भिजाएर खराब नगरेको कोही परिवार बाँकी छैन । भजनी नगरपालिकाका मेयर शेरबहादुर चौधरीका अनुसार बाढीले सबै वडा प्रभावित भए पनि ३, ५, ७ र ८ नम्बर वडा पूर्ण डुबानमा छन् । कान्ध्रा, मोहना र पथरिया नदीको बाढी बस्तीमा पस्दा भजनी–८ का दैलेखेगाउँ, जनकपुर, खैरा, चर्रा, सुनाफाँटा, कृष्णनगरलगायत दर्जनभन्दा बढी गाउँ चुर्लुम्म डुबेका छन् ।
प्रभावितहरू हुलाकी राजमार्गसहित अग्लो स्थानतिर सर्ने क्रम जारी छ । भजनी–३ को दैलेखटोल र ५ को कुलियापुर, ढुसी, जनकपुरलगायत गाउँ पनि डुबेका छन् । यहाँबाट पनि करिब २ सय परिवारलाई उद्धार गरिएको छ । टीकापुर नगरपालिकाको सुकुम्बासी बस्तीका धेरै घर भत्केकाले उनीहरूलाई शक्तिनगर, नयाँ नेपाल र कर्णालेश्वर प्राविमा राखिएको मेयर तपेन्द्र रावलले बताए । टीकापुर–७ का विस्थापितलाई त्यहाँको उच्च घरमा राखिएको छ ।
जमरा कुलोमा पानीको सतह बढेर टीकापुर बजार क्षेत्र, शिवनगर, चमेलीपुर, विजयनगरमा गरी करिब एक सय ५० घरजति भत्किएका छन् । काँचो माटोका ब्लकले बनाइएका घरका भित्ता ढलेपछि छानोसहित घर भत्किएका हुन् । घर भत्किएर अलपत्र परेकाहरू कोही आफन्तको सहारामा त कोही सडकमै छन् ।जोशीपुर गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरीले पालिकाको पूर्वतर्फका ७, ५ र ४ नम्बर वडाका सिमराना, खर्चोवा, पटाउ, हसनपुर, खमिरियालगायत गाउँ पथरिया नदीले डुबानमा पारेको बताए । पश्चिमतर्फ रतनपुर कुनौसी, खुसी, राजीपुर भित्रियासम्मका एक दर्जन बस्तीमा पथरिया नदीको बाढी पसेको छ । जोशीपुर गाउँपालिकामा करिब २४ सय घर डुबानमा परेको गाउँपालिका अध्यक्ष चौधरीले जानकारी दिए ।
यो क्षेत्र पूरै जलमग्न भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले बताए ।बाढीले जलमग्न टीकापुर तस्बिर : राससत्यस्तै मोहना नदीले कैलारी गाउँपालिकाका हसुलिया, भित्रवा, मोहनपुर, शिवरतनपुर, बेलापरसुवालगायत बस्तीलाई डुबानमा पारेको छ । कर्णालीको भँगालोबाट आएको बाढीले टीकापुरको दुर्गौलीलगायत क्षेत्र पनि डुबानमा परेको प्रहरीले बताएको छ ।
नदीहरूमा पानीको सतह बढ्दै गएको र गाउँमा डुबान भइरहेकाले स्थानीय तहले सुरक्षा अपनाउन आग्रह गरिरहेका छन् । प्रहरी उद्धारमा खटिएको छ । तर धेरैका सामान जोगाउन सकेको छैन । राति नै घरमा पानी पसेर अन्न नष्ट भएको पीडितले बताएका छन् ।





