September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

बाढीले भत्कायो नेपालकै दोस्रो लामो पुल

राप्ती, अविरल वर्षाका कारण आएको बाढीले राप्ती नदीमा बनेको नेपालकै दोस्रो लामो पुलमा क्षति पुगेको छ ।

दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार दाङको देउखुरी क्षेत्रको राप्ती गाउँपालिका र गढवा गाउँपालिका जोड्ने नेपालको दोस्रो लामो पुलमा राप्ती नदीमा आएको बाढीले क्षति पुर्‍याएको हो ।

महदेवातर्फ १५–२० मिटर सडक बाढीले बगाएकाले आज बिहानबाट यातायात आवागमन अवरुद्ध भएको प्रजिअ रामबहादुर कुरुम्बाङले जानकारी दिएका छन् ।

उक्त पुलमा क्षति पुगेसँगै यातायात आवागमन ठप्प भएको छ । राप्ती नदीमा आएको बाढीले पुलको एकातर्फको भागमा क्षति पुर्‍याएपछि पुलबाट यातायातका साधन सञ्चालन बन्द भएको हो ।

पुल तत्काल मर्मत गर्न नेपालगन्जस्थित पुल विभागलाई समेत अनुरोध गरिएको उनले बताए । हालकै स्थितिमा पुललाई भने धेरै खतरा नदेखिएको उनको भनाइ छ ।

राप्ती गाउँपालिकाको सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने उक्त पुल गत माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको