
श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नागपंचमी आज परम्पराअनुसार घर घरमा नागको पूजा गरी मनाइँदै छ ।नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा रहि आएकाे छ ।
अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । भने ब्राह्मण उपस्थित हुन नसकेमा स्वयं घरका अग्रजले पनि पुजा गरि घरकाे ढाेकामा समेत नागकाे फाेटाे सजाई पुजा गरिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता पनि रहि आएकाे छ ।
घरका मूलढोकामा नागको तस्वीर टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नागलाई पुजा गर्न गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार चढाउने गरिन्छ । आज सबेरैदेखि नाग मन्दिरहरुमा विषेश पुजाआजा हुने र भिडभाड हुनेछ ।






