April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

माओवादीले गर्याे २ मेयर र ५ उपमेयरसहित १४ जनालाई कारबाही

काठमाडौं असार ७। नेकपा माओवादी केन्द्रले पार्टी छोडेका १४ जनालाई कारबाही गरेकाे छ । स्थानीय तहका १४ जना स्थानीय जनप्रतिनिधिलाई पार्टीबाट निस्कासन गरेको हाे । पार्टीको सोमबार बसेको आकस्मिक केन्द्रीय समिति बैठकले १४ जना जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गरेको हो ।

कारबाहीमा परेका मध्ये अधिकांश रौतहट र कैलालीका छन् भने ती मध्य २ जना मेयर र ५ जना उपमेयर समेत छन् । रौतहटका मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साह र कटरियाका सियाराम कुशवाह छन् माओवादीले ५ जना उपमेयरलाई पनि कारबाही गरेको छ । कारवाहीमा परेका उपमेयरहरुमा रौतहट देवाही गोनाही नगरपालिकाकी परनिया देवी, रौतहटकै मौलापुरका गौरिशंकर जयसवाल, फतुवाविजयपुर रौतहटकी उपप्रमुख कान्ती देवी र मानवनारायण रौतहटकी उपप्रमुख सिमल साह छन् ।

त्यसैगरी कैलाली भजनी नगरपालिकाका उपप्रमुख छायाँ देवकोटा, सम्सी गाउँपालिका महोत्तरीका अध्यक्ष शेष फारुक र यमुनामाई गाउँपालिकाकी उपाध्यक्ष गितादेवी साहलाई पनि माओवादी केन्द्रले कारबाही गरेको छ । यसैगरी ४ जना वडाअध्यक्ष पनि माओवादीको कारवाहीमा परेका छन् ।

कारवाहीमा परेका वडाध्यक्षमा गौरीगंगा नगरपालिका –४, कैलालीकी वडाध्यक्ष भागिरथी विष्ट, गोदावरी नगरपालिका–१, कैलालीका वडाध्यक्ष शर्मानन्द भट्ट, बर्दगोरिया नगरपालिका –४, कैलालीका वडाध्यक्ष पुरन बिसी र चम्पादेवी गाउँपालिका–७, ओखलढुंगाका वडाध्यक्ष सुरेश कुमार थापा छन् । यस्तै लहान नगरपालिका सिरहाका नगर कार्यपालिका सदस्य सतमीलाल दास तातीलाई पनि माओवादीले कारबाही गरेको छ ।

यसअघि माओवादी केन्द्रले उनीहरुलाई पार्टी छोडेकाले कारबाही गरेको पत्र निर्वाचन आयोगमा पठाएपनि कारबाहीको अनुमोदन र केन्द्रीय समितिको माइन्युट आयोगमा बुझाउनुपर्ने भन्दै सुचना निकाल्न मानेको थिएन । सोमबारको केन्द्रीय समिति बैठकले निर्णयको अनुमोदन गरेसँगै माओवादीले सोमबारै उक्त विवरण अद्यावधिक गर्न आयोगमा दर्ता गरेको छ ।

माओवादी स्थायी समिति सदस्य लीलामणि पोखरेलले १४ स्थानीय तहका प्रतिनिधिसहित १७ जना केन्द्रीय सदस्यलाई कारवाही गरेको माइन्युट र निर्णय आयोगमा दर्ता गरेको जानकारी दिए ।

शीर्ष समाचार

धेरै पढिएको