

काठमाडौं – एक हजार रुपियाँको नोटमा अब नेपालकै जुम्ल्याहा हात्तीको तस्बिर देख्न पाइने भएको छ । हालसम्म एक हजारको नोटमा देश बाहिरको हात्तीको तस्बिर रहँदै आएकोमा राम–लक्ष्मण नामका स्वदेशी जुम्ल्याहा हात्तीले त्यसलाई विस्थापित गर्नेछन् । नेपाल राष्ट्र बैङ्कले बुधबारबाट राम–लक्ष्मणको वयस्क तस्बिरसहित हजारको नयाँ नोट सार्वजनिक गरेपछि यो अवस्था आएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक रामचन्द्र कँडेल नोटमा आफ्नै देशका जुम्ल्याहा हात्ती राख्दा सकारात्मक सन्देश गएको बताउनुहुन्छ ।
एक हजारको नोटमा राम–लक्ष्मणको तस्बिर राख्ने कदमले संरक्षणकर्मीलाई गर्वको अनुभूति गराएको विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले बताए नयाँ नोट काठमाडौँमा उपलब्ध भइसकेको छैन । पृथ्वी राजमार्गको पहिरोले सडक अवरुद्ध भएपछि बाहिरबाट आएका नोट चितवनमै रहेको जानकारी बैङ्कका कार्यकारी निर्देशक रेवती नेपालले बताए ।
बाटो खुल्नासाथ नयाँ नोट काठमाडौँमा ल्याइनेछ । बैङ्कमा रहेको नोट डिजाइन कमिटीले सिफारिस गरे अनुसार नेपाली हात्तीको तस्बिर राखिएको हो । त्यसमा वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज विभाग, पुरातìव विभागका उच्चाधिकारी तथा संस्कृतिविद् सत्यमोहन जोशी रहेका थिए । गाेरखापत्र दैनिकबाट





