June 1, 2023, Thursday
२०८० जेष्ठ १८, बिहीबार

रोपाइँ शुरु भईसक्दा पनि मल अभाव, किसान आक्रोशित

डोटी, जिल्लामा बर्खे रोपाइँ शुरु भईसक्दा पनि रासायनिक मल अभाव हुँदा किसानलाई समस्या हुँदै आएको छ ।किसानले महिनौँदेखि खेतबारीमा प्रयोग गर्ने रसायनिक मल पाउन सकेका छैनन् । समयमा कहिल्यै मल नपाउने भन्दै किसान चिन्तित र आक्रोशित बनेका हुन् ।

विश्वव्यापी महामारी कोरोना सङ्क्रमणको दोस्रो लहर नियन्त्रण तथा रोकथामका लागु गरिएको निषेधाज्ञाका कारण मल ल्याउन नसक्दा समस्या भएको कृषि सामग्री कम्पनी दिपायल शाखाले जनाएको छ ।

प्रदेश कृषि निर्देशनालयका अनुसार जिल्लामा कम्तीमा पनि १० हजार ८९८ हेक्टर खेतमा धान रोपाइँ हुँदै आएको छ । रोपाइँ गर्ने बेलामा समेत युरिया मल नपाएपछि धान बाली खासै नसप्रिने भन्दै किसान चिन्तित बन्ने गरेको शिखर सिलगढी नगरपालिका–१ का चेतबहादुर बोगटीले सञ्चारमाध्यमलाई बताएका छन् ।

यस वर्ष समयमै वर्षात् शुरु भई डोटीका विभिन्न ठाउँमा धान रोपाइँ शुरु भएको छ । तर मल अभावका कारण धानबाली खासै नसप्रिने भन्दै किसान चिन्तित बनेका सिलगढी नगरपालिका–४ गैराका किसान टीकाबहादुर विकले बताए ।

जिल्लामा मल आपूर्ति व्यवस्थापनको जिम्मा पाएको नेपाल कृषि सामग्री कम्पनी लिमिटेडले समयमै मल खरिद गरी नल्याउँदा अहिले मल अभावको समस्या उत्पन्न भएको यहाँका किसानको आरोप छ ।

यसैगरी नेपाल कृषि सामग्री कम्पनी लिमिटेड दिपायलका अनुसार कैलालीमा रहेको क्षेत्रीय कृषि सामग्री कम्पनीमा समेत मल नभएका कारण आपूर्ति गर्न नसकिएको हो ।

शीर्ष समाचार

धेरै पढिएको