August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिएका वैद्यले माफी मागे

हेटौंडा, विवादास्पद अभिव्यक्ति दिएपछि चौतर्फी आलोचित बनेका नेपाली कांग्रेस वाग्मती प्रदेशसभाका सदस्य नरोत्तम वैद्यले आज प्रदेशसभाको बैठकमा आत्मलोचनासहित माफी मागेका छन् । चौतर्फी विरोधपछि आज प्रदेशसभा बैठकमा उनले पार्टी निर्देशनअनुसार आत्मालोचना गरेका हुन् ।

शुक्रबार (हिजो) को नीति तथा कार्यक्रमको छलफलमा आफ्नो धारणा राख्ने क्रममा सांसद वैद्यले महात्मा गान्धीको हत्यारा नाथुराम गोड्सेको नाम लिएर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आफू गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए ।

उनले सदनमा आफूले बोलेको कुरा कूटनीति र संसदीय मर्यादाविपरीत रहेको महसुस गर्दै शान्तिपूर्ण राजनीतिको शालीनता भनेको सडकमा समेत संयमको अभिव्यक्ति जरुरी रहेको औंल्याएका छन् ।

उनले भने, ‘मैले संसद्को रोस्ट्रममा उभिएर प्रतिक्रिया दिने क्रममा प्रधानमन्त्रीप्रति लक्षित गर्दै मबाट प्रयोग भएको शब्दहरु आपत्तिजनक र संसदीय मर्यादाविपरीत भएको भनी मेरो संसदीय दलले उक्त अभिव्यक्ति फिर्ता लिन निर्देशन गरेअनुसार आफ्नो भनाई फिर्ता लिन्छु ।’

शीर्ष समाचार

धेरै पढिएको