
काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १२० दिन लामो बन्दाबन्दी खुलेपछि आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटगरेका छन् । कोरोना भाइरस सङ्क्रमण र बाढी पहिरोका सम्बन्धमा प्रधानमन्त्री लाई ध्यानाकर्षण गराएका छन् ।
बन्दाबन्दीका बाबजुद सङ्क्रमितको सङ्ख्या २० हजार पुग्न लागेको र तीन दर्जनभन्दा बढीको मृत्यु भएको स्थितिमा बन्दाबन्दी खुलेपछिको चुनौती सामना गर्न नयाँ र विशेष रणनीति निर्माण गर्न सभापति देउवाले आग्रह र माग गरेकाे काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सभापति देउवाले कोरोना परीक्षण पिसिआर प्रविधिबाट मात्रै गर्न आग्रह गर्दै, क्वारेन्टिनहरु अझै पनि मापदण्डयुक्त बनाउन सरकारले ध्यान नदिएको भन्दै आपत्ति प्रकट गरेका थिए ।
सभापति देउवाले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने कार्यमा तीव्रता दिन र बाढी तथा पहिरोमा परेर देशका विभिन्न स्थानमा कयौंँको मृत्यु, कयौं बेपत्ता र सयौं घरबारविहीन भएको हुँदा युद्धस्तरमा कार्य गर्न सरकारलाई आग्रह गरेका छन् । file photo






