
काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक साउन १३ गते बस्नेगरि स्थगित् भएको छ । आज बसेको बैठकले राहत तथा उद्धारामा जुट्ने प्रस्ताव पारित गरेको थियो । आजको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित् थिए । बैठकको अध्यक्षता अर्का अध्यक्ष पुष्पकमल दाहालले गरेका हुन् ।
बैठकको निर्णयबारे प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले फेशबु्कमार्फत यस्तो जानकारी गराएका छन् ।आजको बैठकले सम्पूर्ण जनप्रतिनिधि, पार्टी कार्यकर्ता एवं युवाविद्यार्थीमा प्राकृतिक विपत्तिका बेला स्वयंसेवी भावनाका साथ उद्धार, राहत र पुनःस्थापनाका काममा परिचालित हुन आह्वान गरेको छ ।
आजको स्थायी कमिटी बैठकले प्राकृतिक विपत्तिको अवस्थालाई ध्यानमा राख्दै उद्धार र राहतका कामलाई अझ प्रभावकारी बनाउन, घाइतेको निःशुल्क र भरपर्दो उपचारको प्रबन्ध गर्न, घरबारविहीनलाई अस्थायी आवासको प्रबन्ध गर्न र अभिभावक गुमाएका बालबालिकाको संरक्षणका लागि विशेष प्रबन्ध गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार क्षतिग्रस्त सडक तथा पुल तत्काल मर्मत गरी आवागमन चालू गर्न पनि उक्त बैठककाे आग्रह रहेकाे छ ।






