November 29, 2021, Monday
२०७८ मंसिर १४, मंगलवार

युवतीलाई प्रेमपत्र लेखेको भन्दै १८ वर्षिया विकासमाथि निर्घात कुटपिट

रौतहट, रौतहटको दुर्गा भगवती गाउँपालिका–५ का १८ वर्षीय दलित युवक विकास पासवानले युवतीलाई प्रेमपत्र लेखेको भन्दै उनीमाथि निर्घात कुटपिट गरिएको छ । सो घटना बिहीबारको भए पनि शुक्रवार सार्वजनिक भएको हो ।

दुर्गाभगवती–५ का वडाध्यक्ष धर्मनाथ चौधरीका अनुसार ती युवकले स्थानीय एक युवतीलाई प्रेमपत्र लेखेपछि कुटपिट भएको आफुले सुनेको बताए । वडाध्यक्ष चौधरीले घटनामा संलग्न दुबै पक्षलाई प्रहरीले बोलाएको जानकारी आफुले पाएको समेत बताए ।

पासवानलाई बाँधेर कुटपिट गरेको भिडियो र तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । उक्त भिडियोमा कक्षा ११ मा अध्ययनरत युवक पासवानलाई केही व्यक्तिले बाँधेर निर्घात कुटपिट गरेको र वरिपरि एक दर्जन बढी मानिस जम्मा भएको स्पष्ट देखिन्छ ।

पासवानले आफुले कुनै गल्ती नगरेको भन्दै याचना गरिरहेको दृश्य भिडियोमा देखिन्छ । एक व्यक्तिलेले धमाधम कुटपिट गरिरहेको र अन्य व्यक्तिहरु हेरेर बसेको तस्बिरमा देखिन्छ ।

तर कुटपिटबारे आज दिउँसोसम्म उजुरी नपरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी शिद्धिविक्रम शाह बताउँछन् ।उनले भने, ‘कुटाइ खाएका युवकको स्वास्थ्य जाँच भएको छ । जाहेरी आएपछि थप अनुशन्धान हुन्छ ।’

हाल कुटपिटमा संलग्न भएको आरोपमा ५० वर्षका राजदेव गिरी र अरु २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको