
विदेशमा अलपत्र परेका श्रमिकले तोकिएको ढाँचामा सम्बन्धित कूटनीतिक नियोगमा निवेदन दिएपछि विदेशको रोजगारदाताबाट रोजगार करारबमोजिम सेवा, सुविधा र स्वदेश फिर्ताका लागि हवाई टिकट नपाएको भएमा म्यानपावर कम्पनी र कूटनीतिक नियोगले संयुक्त रूपमा रोजगार करारबमोजिम पाउने सेवा, सुविधा र फिर्ता टिकट उपलब्ध गराउन पहल गर्नुपर्ने छ ।सरकारले लिएको नीतिअनुसार वैदेशिक रोजगार व्यवसायी कम्पनीले मागपत्र लिँदा सम्बन्धित कम्पनीले श्रमिकको आतेजाते हवाई टिकट दिनुपर्ने हुन्छ ।
त्यस्तै नीतिअनुसार म्यानपावर कम्पनीले सम्बन्धित कम्पनीलाई श्रमिक नेपाल फिर्ता हुन टिकटका लागि पहल गर्ने छन् । त्यस्तै म्यानपावर कम्पनीले समस्यामा परेको श्रमिकले तोकिएको सेवा सुविधा नपाएको भए सोको पहलसमेत गर्नुपर्ने छ । अलपत्र परेका श्रमिकलाई उद्धार गरी स्वदेश फिर्ताका लागि हवाई टिकटका लागि पहल गर्ने जिम्मेवारी म्यानपावर कम्पनीलाई दिइएको छ । विदेशबाट फिर्ता हुन चाहेको व्यक्ति व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको भए दूतावासले रोजगारदातासँग हवाई टिकटका लागि पहल लिनेछ ।
श्रमिकको निवेदनअनुसार पहल गरी सबै प्रक्रिया पूरा गरेर उसलाई आर्थिक सहायता दिनुपर्ने यकिन गरिने छ । गाेरखापत्रका अनुसार प्रक्रिया पूरा गरेका श्रमिकलाई एक वर्षभन्दा कम रोजगार करार अवधिमा रोजगारी गुमाएको भए हवाई टिकट खर्चको शतप्रतिशत रकम सरकारले दिनेछ । त्यस्तै एक वर्ष वा सोभन्दा बढी रोजगार करार अवधिभित्र रोजगारी गुमाएको भए हवाई टिकट खर्चको ७५ प्रतिशत रकम सरकारले तिर्नेछ ।
त्यस्तै पुनः श्रम स्वीकृति लिएर विदेश गएकाको हकमा हवाई टिकट खर्चको ५० प्रतिशत रकम सरकारले बेहोर्ने छ भने सरकारी शुल्कमा उद्धार भएकालाई विमानस्थलबाट सम्बन्धित क्वारेन्टाइनसम्म पु¥याउन लाग्ने खर्च पनि सरकारले नै गर्नेछ ।







