June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

छाक टार्न समस्या भए हटलाइन नम्बर ११८० मा फोन गर्न आग्रह

काठमाडौं, काठमाडौं महानगरपालिकाले बन्दाबन्दीको समयमा कसैलाई छाक टार्न समस्या भए हटलाइन नम्बर ११८० मा फोन गर्न आग्रह गरेको छ ।

विश्वव्यापी महामारी कोभिड-१९ का कारण मुलुकको अधिकांश जिल्लामा निषेधाज्ञा लगाइएको यस समयमा कसैलाई दैनिकी चलाउनका लागि खाद्य सामग्री आवश्यक परे महानगरपालिकाको हटलाइन नम्बरमा फोन गर्न अनुरोध गरिएको हो ।

अघिल्लो वर्षको कोरोना महामारीका समयमा विभिन्न सङ्घसंस्था र महानगर आफैँले पनि वडासँग समन्वय गरी समस्यामा परेकालाई खाद्य सामग्री वितरण गरेको थियो ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोल बताउँछन्, “गत वर्षको तुलनामा यस वर्ष खानका लागि समस्या पर्यो भन्दै आउनेको सङ्ख्या एकदमै कम रहेको छ, आएकालाई वडा कार्यालयमार्फत सहयोग गरिरहेका छौँ । कोही समस्यामा परेर पनि कहाँ सम्पर्क गर्ने भनेर अन्योल हुनुभएको भए आफू बसोबास गरेको स्थानसहित ११८० मा फोन गरेर जानकारी गराउन आग्रह गर्दछु ।”

यसरी जानकारी प्राप्त भएपछि महानगरपालिकाका ३२ वडामध्ये कुन वडाबाट सहयोग गर्न सहयोग हुन्छ सोहीअनुरुप आवश्यक खाद्य सामग्री सहयोग गरिने जनाइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको