October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

ग्याँस बोकेको ट्याङ्कर र ट्रक आपसमा ठोक्किदा पृथ्वी राजमार्ग अवरुद्ध

तनहुँ, तनहुँको व्यास नगरपालिका– १२ कमलाबारीमा ग्याँस बोकेको ट्याङ्कर र ट्रक आपसमा ठक्कर खाँदा पृथ्वी राजमार्ग अबरुद्ध भएको हो । राजमार्गमा पर्ने दमौली र डुम्रे खण्डमा आज बिहान १० बजेदेखि यातयात अवरुद्ध भएको हो ।

प्रहरीका अनुसार भारतबाट खाना पकाउने एपपी ग्याँस बोकेर आएको जी जे ०६ ए यू ०१९६ नम्बरको बुलेटले उक्त स्थानमा सोही दिशामा गुडिरहेको ग १ ख ७१०१ नम्बरको ट्रकलाई ठक्कर दिँदा राजमार्ग अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अरुण पौडेलका अनुसार ओरालो बाटोमा आइरहेको बुलेटको ब्रेक फेल भएर अनियन्त्रित भएर ट्रकलाई ठक्कर दिएको प्रारम्भिक अनुमान गरिएको र घटनामा मानवीय क्षति नभएको बताइएको छ ।

दुर्घटनास्थलबाट ट्रकलाई हटाइएको भए पनि ग्यास बुलेटले तेर्सिएर पृथ्वी राजमार्ग ढाकेकोले राजमार्ग अवरुद्ध भएको एसपी पौडेलले बताएका छन् ।

ग्यास बुलेट अति प्रज्ज्वलनशील पदार्थ भएका कारण इन्जिनियरलाई बोलाएर ग्याँस सारेर मात्रै हटाउने तयारी भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनिल पाण्डलेले बताए ।

शीर्ष समाचार

धेरै पढिएको