
काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । सवा ३ बजेबाट सुरु भएको बैठक साँढे ७ बजे सम्पन्न भएको हो । चार घण्टाभन्दा बढि चलेको बैठकमा नेताहरुबीच ठोस सहमति भने हुन सकेन ।बैठकपछि पत्रकारहरुलाई जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले सहमतिकै आधारमा समस्याको सम्बोधन गर्ने सहमति भएको बताए । उनले भने,‘सहमतिका आधारमा सम्बोधन गरौँ, सहमतिका आधारमा निकास निकालौं भन्ने भएको छ
सचिवालयमा अझै छलफल गरेर पार्टी एकता रक्षा र सुदृढ गर्ने, जनादेशअनुसार काम गर्ने गरी अझै थप छलफल गर्ने निश्कर्ष निकालिएको छ ।’ उनकाअनुसार आइतबार दिउँसो ३ बजे स्थायी कमिटीको बैठक बस्नेछ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीको आन्तरिक सङ्कट सहमतिकै आधारमा अन्त्य गर्नेगरी छलफल अगाडि बढाएको छ ।
लामो छलफलमा आन्तरिक मतभेद अन्त्य गर्ने विविध कोणबाट छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।पार्टी एकता रक्षा र सुदृढ गर्दै जनताको जनादेशअनुसार काम गर्नेगरी पार्टीको सङ्कट निवारण गर्न थप छलफल गर्ने निर्णय भएको छ” श्रेष्ठले बताए ।
बैठकमा अध्यक्षसहित नेताहरूले विभिन्न विचार प्रस्तुत गरेकाे र समस्याको समाधान सहमतिकै आधारमा निकालौँ भन्ने भएको उनले बताए ।राम्रोसँग छलफल भएको र अझै व्यवस्थित ढङ्गले प्रस्तावहरू बैठकमा आएपछि थप छलफल हुने उहाँले प्रष्ट पार्नुभयो । पत्रकारको जिज्ञासापछि नेकपाको केन्द्रीय कमिटी बैठक बोलाउनेबारे भने निर्णय नभएको उनले जानकारी दिए । प्रधानमन्त्रीको राजीनामाको विषयमा बैठकमा कुनै प्रस्ताव नबनेको बुझिएको छ ।





