
महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले जिल्ला झापा दमक न.पा. ०७ कृष्णमन्दिर बस्ने २९ बर्षको चन्दन जिन्दललाई पक्राउ गरेकाे छ । झापा, बारा, पर्सा, सर्लाही बस्ने कैयौं व्यक्तिहरुलाई बिभिन्न बहाना पारी ठगी गरेर फरार रहेको अवस्थामा जिल्ला भक्तपुर मध्यपुर ठिमि न.पा.वडा न.३ गठ्ठाघरमा लुकिछिपी बसेको अवस्थामा मिति साउन १ गते साँझ अं. १८:०० बजे तिर पक्राउ परेकाे हाे ।
निज चन्दन जिन्दल बिरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा बैंकिङ कसुर मुद्दा दर्ता भई उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगन्जबाट र इलाका प्रहरी कार्यालय दमक झापामा ठगी मुद्दा दर्ता भई झापा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको थियो ।
उक्त व्यक्ति चन्दन जिन्दलले आफुलाई मनिष अग्रवाल भनेर पनि चिनाउने गरेको बुझिएको छ । हाल सम्म जिन्दलले झापा, बारा, पर्सा, सर्लाही बस्ने २२ जना व्यक्तिहरुबाट जम्मा :- रु ७,८१,४२,०००।– (सात करोड एकासी लाख बयालीस हजार) बराबर ठगी तथा बैंकिङ कसूर गरेको खुल्न आएको छ । र अन्य कयौ व्यक्ति तथा उद्योगहरुमा गरेको ठगीको उजुरी आउने क्रममा रहेको ।
जिन्दलले बारा, पर्साका बिभिन्न खाद्यान्न व्यापारीहरुलाई बिश्वासमा लिई उधारोमा खाद्यान्न ल्याई काठमाडौंका व्यापारीहरुलाई खरिद मूल्य भन्दा पनि सस्तोमा नगदमा बिक्री गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ भने झापा तिर जमिन र हार्डवयर व्यवसायमा पनि ठगी गरेको बुझिन आएको छ ।
चन्दन जिन्दललाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरी आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको र थप अनुसन्धान कार्य भैरहेको छ ।





