March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

फेरि संसद विघटन गराएर हामीसँग बदला लिन खोजिँदैछ: नेता भुसाल

काठमाडौं, नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री तथा एमालेक अध्यक्ष केपी शर्मा ओलीले पुनः प्रतिनिधि सभा विघटन गर्न लागिपरेको आरोप लगाएका छन् ।

उनले बुधबार सामाजिक सञ्जालमार्फत प्रतिनिधि सभा विघटन गरिँदासम्म दोस्रोपटक असफल भएको शक्तिले फेरि प्रतिनिधि सभा विघटन गराएर आफूहरूसँग बदला लिन लागेको दाबी गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज हामीविरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनःस्थापित हुँदा दोस्रोपटक पनि असफल भएका शक्तिहरूले चुनावको नाममा फेरि प्रतिनिधि सभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दाबीको खण्डन हुँदैन।’

उनले प्रधानमन्त्री ओलीको नाम नलिईकन हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको दोष ढाकछोप गर्नेले आज झलनाथ खनाल माधव नेपाललाई गाली गरेर एमालेलाई विभाजन गर्न खोजिरहेको आरोप पनि उनले लगाएका छन् ।

उनले भनेका छन्, ‘हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो। आज झलनाथ–माधवलाई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ । विद्रोहले क्रान्तिमा योगदान गर्छ कि भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ।’