June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

वार्ता र लचकता दुवै अपनाउँछौ तर अहिलेसम्म कुनै सहमति भएको छैन: नेता नेपाल

काठमाडौं, नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी एकताका लागि वार्ता र लचकता दुवै अपनाइने बताएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् ।

बिहिबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटपछि राष्ट्रपति विद्यादेवि भण्डारीसँग समसामयिक राजनीतिक एवम् पार्टीको आन्तरिक घटनाक्रम सम्बन्धमा भेटवार्ता गरेका एमाले नेता नेपालले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका हुन् ।

तथापि, आफूहरुले निर्माण गरेको एमाले पार्टी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा सुदृढ र एकताबद्ध भएको चाहने उनले बताए ।

सर्वोच्च अदालतको फागुन २३ को फैसलाले नेकपा एमालेलाई पूर्ववत् अवस्थामा फर्काएपनि फागुन २८ गते पार्टी अध्यक्ष ओलीको अध्यक्षतामा बसेको बैठक र यसले गरेका निर्णयहरुप्रति नेपाल पक्षले चरम् असन्तुष्टि व्यक्त गर्दै आएको छ ।

२०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै आफूहरुको बटम लाइन हो, नेता नेपालले लेख्नुभएको छ । यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन समेत एमाले नेता नेपालले आह्वान गरे ।

शीर्ष समाचार

धेरै पढिएको