
बेइजिङ – कोरोनाभाइरसको उत्पत्ति स्राेतको खोजी गर्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का विज्ञहरू चीन आएका पुगेका छन् । डब्लुएचओका दुई जना विज्ञ चीन पुगेकाे चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ छुनयिङले सोमबार पुष्टि गरेका छन् ।विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण सबैभन्दा पहिला चीनमा भेटिएकोले उनीहरू अध्ययनका लागि चीन आएका हुन् ।
दैनिक पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता हुआले अध्ययनका लागि आएका डब्लुएचओका विज्ञहरूले चिनियाँ वैज्ञानिक, चिकित्सा विज्ञ र सरोकारवालाहरूसँग छलफल गर्ने जानकारी दिए ।उनीहरूले हाम्रा विज्ञहरूसँग सम्बन्धित विषयमा प्रश्नहरू गर्नेछन् र हाम्रा विज्ञहरूले जानकारी दिनेछन्,” प्रवक्ता हुआले भने । डब्लुएचओका स्वास्थ्य विशेषज्ञहरूले यस्तै छलफलका लागि अन्य देशहरूमा पनि जान सक्ने उनले बताएका छन् ।
“कोरोनाभाइरसको विकासका लागि विभिन्न देश तथा क्षेत्रहरूमा धेरै चरण पूरा गर्नुपरेको डब्लुएचओले पनि विश्वास गरेको छ, त्यही चरणहरूका बारेमा पहिचान गर्न उनीहरू आएका हुन्,” । धेरै ठाउँमा धेरै चरणबाट कोरोनाभाइरसको विकास भएकाले उनीहरू आवश्यकता अनुसार अन्य देशहरूमा पनि जानसक्ने उनले पत्रकारहरूलाई जानकारी दिएका हुन् । यसअघि डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रयेससले अघिल्लो महिना भनेका थिए “कोरोनाभाइरसको स्राेत के हो भन्ने कुरा पत्ता लगाउनु धेरै महत्वपूर्ण हुन्छ ।”





