May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

भारतबाट आउने यात्रुलाई क्वारेन्टिनको लागि ८ वटा होटल सूचीकृत

  • 2
    Shares
file photo

काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले होटल क्वारेन्टिनको लागि ८ वटा होटललाई सूचीकृत गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार एयर बबल सुविधाअन्तर्गत भारतबाट हवाइ उडानमार्फत आउने यात्रुलाई १० दिन अनिवार्य होटल क्वारेन्टिन बस्न उक्त होटल सूचीकृत गरेको हो ।

मन्त्रालयले काठमाडौं उपत्यकाका गोदावरीमा ९१ कोठा भएको भ्यु भृकुटी होटल, गुहेश्वरीमा ६० कोठा भएको माधव होटल, एयरपोर्टमा ८० कोठा भएको एयरपोर्ट होटल तोकेको छ ।

यसैगरी गौशालाका ३ वटा होटललाई क्वारेन्टिनको रुपमा प्रयोग गर्न सकिने मन्त्रालयले जनाएको छ । यसमा ६३ वटा कोठा भएको अमादब्लाम होटल, ७० वटा कोठा भएको आनन्द आश्रम र ३० वटा कोठा भएको रिडर्स इनलाई क्वारेन्टिनको रुपमा प्रयोग गर्न सकिने उल्लेख गरेको छ ।

यस्तै जगातीका २४ कोठाको फार्म हाउस रिसोर्ट र १० कोठा भएको ए वान रिसोर्टलाई क्वारेन्टिनको लागि सूचीकृत गरेको छ ।

मन्त्रालयले होटलहरुको विवरण नेपाल पर्यटन बोर्डले आवश्यकताअनुसार समय–समयमा अद्यावधिक गरी सरोकारवालाहरुलाई सूचित गर्ने जनाएको छ ।

यस्तै मन्त्रालयले प्रतिव्यक्ति बढीमा ३ हजार रुपैयाँसम्म लिनसक्ने जनाएको छ । जसमा होटलहरुले विमानस्थलबाट होटलसम्म यात्रुलाई ल्याउनुका साथै खाना तथा बसोबासको व्यवस्था गर्नुपर्नेछ ।

शीर्ष समाचार

धेरै पढिएको