May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

लत्तो छाडिदिनु गैह्रजिम्मेवारपूर्ण भन्दै सरकारलाई विवेकशील साझाको ६ आह्वान

  • 5
    Shares

काठमाडौं, स्वास्थ्य प्रणाली थेग्नै नसक्ने भएको र कोरोना सङ्क्रमित बिरामीलाई अस्पतालमा शैय्या उपलब्ध गराउन नसकिने सरकारको अभिव्यक्तिप्रति विवेकशील साझा पार्टीले आपत्ति जनाएको छ । 

आज विवेकशील साझाका प्रवक्ता शरदराज पाठकले प्रेस विज्ञप्ति जारी गर्दै कोभिड १९ सङ्क्रमणको दोस्रो लहरका कारण देशको स्वास्थ्य प्रणालीले धान्न नसक्ने अवस्था आएको भनि सरकारले लत्तो छाडिदिनु  गैह्रजिम्मेवारपूर्ण र गम्भीर आपत्तिको विषय भएको बताए । 

विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाका कारण उत्पन्न जटिल परिस्थितिसँग जुध्न राज्यका तर्फबाट हर सम्भव उपाय लगाएर नागरिकलाई पनि सहयोगका लागि अभिप्रेरित गर्नुपर्नेमा दैनिक साढे पाँच हजार सङ्क्रमण देखिएको स्थितिमै सरकारले यसरी लत्तो छाडिदिनु एकदमै गैह्रजिम्मेवारपूर्ण र गम्भीर आपत्तिको विषय हो ।’

यस्तै अहिले राज्य र सबै नागरिक एकजुट भएर सङ्कटसँग जुध्नु पर्ने समय भएको पाठकको भनाइ छ । साथै उनले आफ्ना पार्टी आफ्ना सदस्य तथा शुभेच्छुकहरुलाई कोरोना विरुद्धको सङ्घर्षमा राज्यलाई आवश्यक यथासम्भव सहयोग गर्न आह्वान गरे । विवेकशील साझाले कोरोना रोकथामका लागि सरकारलाई पनि ६ काम गर्न आह्वान गरेको छ । 

सरकारलाई विवेकशील साझाको ६ आह्वान

१) काठमाडौँ उपत्यकासहित देशका प्रमुख शहरहरूका निजी अस्पतालहरूमा समेत कोरोना सङ्क्रमितको उपचारको व्यवस्था तथा निजी अस्पतालसँग सम्बद्ध जनशक्ति र स्रोत/साधनको समुचित प्रयोग। 

२) सेना र प्रहरी समेतको सहयोग लिएर कोरोनाबाट प्रभावित सबै क्षेत्रमा अस्थायी उपचार केन्द्रहरूको स्थापना। 

३) सेना र प्रहरीका सहित देशभित्र र देश बाहिर रहेका सबै सेवा निवृत्त चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई बिरामीको उपचार सेवामा स्वयंसेवी भई सहयोग गर्न अपिल। 

४) मित्र राष्ट्रहरू खास गरी चीनसँग विपद् व्यवस्थापन विज्ञ टोलीदेखि अक्सिजन, भेन्टिलेटर, पीपीई जस्ता आवश्यक सामग्री सहयोगको अपिल। 

५) हाल रोकिएको कोभिड १९ विरुद्धको खोप कार्यक्रम व्यवस्थित बनाएर तत्काल पुनः सञ्चालन। 

६) निषेधाज्ञा अवधि लम्ब्याउनुपर्ने अवस्था आइ परे श्रमिक तथा दैनिक ज्याला मजदुरी गर्ने अति विपन्न वर्ग विगतमा जस्तै खानै नपाउने गरी समस्यामा पर्ने हुनाले त्यस्तो स्थिति आउन नदिन अहिलेदेखि नै आवश्यक तयारी। 

शीर्ष समाचार

धेरै पढिएको