
भैरहवा – बन्दाबन्दीका कारण लामो समय थन्किएका लुम्बिनी मेट्रो सिटी प्रालिका एसी सुविधासहितका बस आइतबारदेखि सञ्चालनमा आउने भएका छन् । सरकारले छोटो दूरीका सार्वजनिक सवारीका साधन सञ्चालन गर्ने निर्णय गरेकामा स्वागत गर्दै प्रालिले आइतबारबाट यातायात सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष धनबहादुर अधिकारीले जानकारी दिएका छन् । सरकारले छोटो दूरीका यातायात सञ्चालन गर्न अनुमति दिएपछि लुम्बिनी मेट्रो सिटीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भौतिक पूर्वाधार तथा विकास मन्त्रालयसँग समन्वय गरी यातायात सञ्चालनमा ल्याउने निर्णय गरेको उनले बताए ।
उनका अनुसार गृह मन्त्रालयले जारी गरेका सबै मापदण्ड पूरा गरी सुरक्षित तरिकाले यातायात सञ्चालन गर्ने छ । हामीले तीन महिनाभन्दा बढी बन्दाबन्दी बेहो¥यौँ, मुलुक विपदमा परेको अवस्थामा सर्वसाधारणको सेवाका लागि हाम्रो सेवा सुचारु गर्ने निर्णय गरेका हौँ, अधिकारीले भने, “हामी सुरक्षित तरिकाले बस सेवा सञ्चालनमा ल्याउनेछौँ । ” राज्यले गरेको निर्णय अनुरूप यात्रुलाई बसमा चढाउनुअघि सेनिटाइजर र थर्मल गनबाट ज्वरो जाँच गरेर बसभित्र प्रवेश गर्न दिइने, बसभित्र भौतिक दूरी कायम गरिने, सहचालकले पीपीई लगाएर मात्र काम गर्न लगाइनेजस्ता मापदण्ड पूरा गरेर सञ्चालन गरिने यातायात व्यवसायी प्रकाश पुनले बताए ।
हाल आठवटा एसी बस सञ्चालनमा ल्याएको प्रालिले बेलहिया नाकादेखि बुटवलको गोलपार्क र बर्दघाटसम्म प्रत्येक आधा घण्टामा सवारीसाधन सञ्चालन गर्ने जनाएको छ । खाेरखापत्र





