December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

म प्रधानमन्त्री पदका लागि लालायित छैन, तर नेतृत्व गर्नुपर्ने अवस्था आए पछि हटिँदैन !

file photo

काठमाडौं, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका छन् । तर राजनीतिक परिस्थितिबाट भोलि आफैंले नेतृत्व गर्नुपर्ने अवस्था आए पछाडी नहट्ने उनले बताए ।

आज आफ्नो निवास बुढानिलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित कृति नेपाली जन जातीय संस्कार र संस्कृति विमोचन गर्दै यस्तो बताएका हुन् ।

नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता नगरेका कारण सरकार बहुमतकै अवस्थामा रहेकाले बहुमतको सरकारसँग निउ नखोज्ने पनि सभापति देउवाको भनाइ छ ।

उनले भने, ‘प्रचण्डजीहरुले समर्थन फिर्ता लिएको छैन । त्यस मानेमा बहुमतकै सरकार छ अहिले । बहुमतको सरकार भएको बेलामा हामीले अरु कुनै कुरा सोच्ने कुरा छैन । त्यसकारण हामीले बहुमतकै सरकार मानेका छौँ । बहुमतको सरकारमा हामीले निउँ खोज्ने कुरा छैन । हामीलाई प्रधानमन्त्री चाहियो भनेर मरिमेट्ने कुरा पनि छैन । हामी प्रधानमन्त्री पदको लागि लालायित छैनौं । तर राजनीतिक परिस्थितिबाट यदि भोलि हामीले नै नेतृत्व गर्नुपर्ने अवस्था आयो भने हामी पछाडी हट्दैनौँ ।’

उनले वर्तमान राजनीति तरल अवस्थामा रहेको भन्दै स्थिति यतै जान्छ भनेर भन्न सक्ने अवस्था नरहेको बताए ।

शीर्ष समाचार

धेरै पढिएको