अहिलेको अवस्थामा मन खुलाएर बजेट निर्माण गर्न सकिदैन: अर्थमन्त्री पौडेल

काठमाडौं, अर्थमन्त्री विष्णु पौडेलले अहिलेको अवस्थामा मन खुलाएर बजेट निर्माण गर्न नसकिने बताएका छन् ।
बुधबार सत्तारुढ नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री पौडेलले यसपटक मन खुलाएर बजेट निर्माण गर्न नसकिने बताएका हुन् ।
कोरोना महामारीका कारण सिर्जित समस्या र बजेटको स्रोतको सीमितताका कारण बजेट निर्माण गर्दा खुम्चिनुपर्ने अवस्था रहेको उनले बताएका छन् ।उनले बजेटमा समावेश गर्नुपर्ने विषयमा अनेरास्ववियुले दिएको सुझाव अत्यन्तै महत्वपूर्ण भए पनि बजेटको स्रोत हेरेर निर्माण गर्नुपर्दा समस्या रहेको बताए ।
कोभिडका कारण खुम्चिएको राजस्व, अन्तर्राष्ट्रिय सहयोग परिचालन र आन्तरिक ऋणको परिधिभित्रै रहेर बजेटको स्रोत निर्माण गरिने पनि प्रस्ट पारे । त्यसैले यसपटक मन खुलाएर, हात फैलाएर बजेट निर्माण गर्ने नभई खुम्चिएर निर्माण गर्नुपर्ने परिस्थिति रहेको अर्थमन्त्री पौडेलले बताए ।
यस्तै, अनेरास्ववियुका अध्यक्ष ऐन महरसहितका विद्यार्थी नेताहरुले आगामी बजेटमा शिक्षा क्षेत्रका लागि कम्तीमा २० प्रतिशत बजेट छुट्याउन माग गरेका छन् ।
प्रतिकृया दिनुहोस्