April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

ओली पक्षद्वारा अनेरास्ववियुका तीन नेतालाई कारबाही

  • 1
    Share

काठमाडौं, नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका तीन जना निवर्तमान सचिवलाई प्रधानमन्त्री केपी शर्मा ओली पक्षले कारबाही गरेको छ ।

अनेरास्ववियूका अध्यक्ष ऐन महरले तीन जना निवर्तमान सचिव आरती लामा, वसिम आलम र सुदेश पराजुलीलाई कारबाही गरेका हुन् । आज एक विज्ञप्ति जारी गर्दै तीनै जनालाई अनेरास्ववियुको साधारण सदस्यबाट समेत निष्कासन गरिएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘संगठनको निर्देशनलाई अटेर र घोर अपमान गरी स्पष्टीकरण नदिएकाले उहाँहरूलाई संगठनको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ ।’

अनेरास्ववियुअध्यक्ष महर ओली पक्षका हुन् भने लामा, आलम र पराजुली एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका हुन् ।

लामासहितका नेताहरूले १० चैतमा अनेरास्ववियुको समानान्तर कमिटी गठन गरेका थिए । जसमा पराजुली अध्यक्ष, आलम सह–अध्यक्ष र लामा महासचिव रहेका थिए । त्यसपछि अध्यक्ष महरले स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरणको जवाफ नदिएपछि कारबाही गरिएको महरले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शीर्ष समाचार

धेरै पढिएको